खोटाङबाट सुत्केरीको उद्धार

खोटाङ । अधिक रक्तस्रावका कारण सिकिस्त बिरामी हुनुभएकी दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी एक सुत्केरीलाई हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

बर्थिङ सेन्टर (प्रसुति गृह)मा जुम्ल्याहा बच्चालाई जन्म दिएकी दिप्रुङ चुईचुम्मा ५ सप्तेश्वर छितापोखरीकी रेनुका वन (गिरी)लाई आइतबार हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौँ पठाइएको हो ।

महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ पठाइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो । शनिबार जुम्ल्याहा बच्चालाई जन्म दिएकी रेनुकाको अधिक रक्तस्रावका कारण शारीरिक अवस्था नाजुक बनेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टर झिकाएर उद्धार गरिएको हो ।

उद्धार गरिएकी रेनुकाको काठमाडौँको थापाथलीस्थित प्रसूति गृहमा उपचार शुरु भएको आफन्तले बताएका छन् । दुई बच्चाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट यसअघि जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङ केराबारीकी २१ वर्षीया तारा राई, एँेसेलुखर्क गाउँपालिका–३ ऐँसेलुखर्ककी सिर्जना तामाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाकी २६ वर्षीया एलिना कार्की (श्रेष्ठ), हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारकी २३ वर्षीया रविता विश्वकर्मा र खोटेहाङ गाउँपालिका–३ सावा कटहरेकी विममाया विश्वकर्माको पनि उद्धार गरिएको थियो ।

सोमबार, १२ साउन, २०७७, साँझको ०७:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर