प्रहरीको गोली लागेका घाइतेको मृत्यु

इटहरी । सुनसरीको हरिनगर गाउँपालिका–७ घुस्कि नजिकैको भारत–नेपाल सिमा क्षेत्र दशगजामा तस्कर र सशस्त्र प्रहरीबीचको झडपमा गोली लागेर घाइते भएका एक युवकको बिहीबार मृत्यु भएको छ ।

साउन २ गते राति भएको घटनामा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय २१ वर्षीय युवा साहबाज मियाँ घाइते भएका थिए ।

प्रहरीका अनुसार तस्करीमा संलग्न मियाँलाई नियन्त्रणमा लिन खोज्दा सशस्त्र प्रहरीमाथि नै आक्रमण भएको थियो । घटनामा सशस्त्र प्रहरीको हतियार खोसाखोस गर्दा प्रहरीको गोली लागेर घाइते भएका मियाँको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनामा तस्करहरुको आक्रमणका एकजना सशस्त्र प्रहरी पनि घाइते भएका थिए । भारतबाट ल्याएको सामान नियन्त्रण गर्ने क्रममा करिब ९ जनाको समूहमा आएका तस्करहरु र गस्तीमा निस्केका सशस्त्र प्रहरीसँग झडप भएको थियो ।

यसैबीच युवकको मृत्युपछि परिवार र आफन्तले क्षतिपुर्तीको माग गर्दै आन्दोलन थालेका थिए । त्यसपछि हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी रोहवरमा सुनसरीका प्रमुख जिल्ला अधिकरी र प्रहरी प्रमुखले जिल्ला प्रशासन कार्यालयमा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्ने र घटनाको छानबिन गर्ने सहमति भएको छ ।

पीडित परिवारलाई १० लाख क्षतिपूर्ति दिन पहल गर्ने र घटनाको छानबिन गर्ने सहमति गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

बिहिबार, ०८ साउन, २०७७, साँझको ०७:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर