विराटनगर । मानव अधिकार तथा वातारण संरक्षण मञ्च (फरेन) विराटनगरले कोभिड १९ रोकथामका लागि तीन महिने रेस्पोन्स कार्यक्रम सञ्चालन गरिरहेको छ ।
दातृ निकाय युनिसेफको सहयोग र प्रदेश १ सामाजिक विकास मन्त्रालयको समन्वयमा कोभिड १९ रेस्पोन्स कार्यक्रम सञ्चालन गर्न थालेको संस्थाका अध्यक्ष यज्ञ शर्माले जानकारी दिनुभयो ।
तीन महिने कार्यक्रम अन्तर्गत नाकाबाट आउनेहरुलाई शुद्ध पिउने पानी उपलब्ध गराउने र हेण्डवास स्टेशन सञ्चालन गराउनेदेखि सरसफाईको अवस्था प्रभावकारी बनाउन पहल गरिनेछ । फरेनले जुन २९ देखि आरम्भ गरेको कोभिड १९ रेस्पोन्स कार्यक्रम सेप्टेम्बर २८ सम्म सञ्चालन गर्नेछ ।
विराटनगर महानगरपालिका, रतुवामाई र सुनवर्षी नगरपालिकासहित बुढीगंगा, धनपालनथान, कानेपोखरी, सुनसरीको इनरुवा र दुहवी नगरपालिका, खानेपानी र सरसफाइ तथा स्वच्छदता समन्वय समितिलाई प्रभावकारी बनाउन सहजिकरण गर्ने अध्यक्ष यज्ञ शर्माले बताउनुभयो ।
फरेनले भारतबाट आउने नेपालीहरुका लागि जोगबनी विराटनगर सीमा नाकामा ‘कन्टयाक्टलेस हेण्डवास स्टेशन’ सञ्चालन गराएको छ । विदेशबाट आउने नेपालीहरुलाई कोरोना संक्रमणबाट जोगाउन फरेनले आफ्नै प्राविधिकहरुको सहयोगमा सीमा नाका रानीमा ‘कन्टयाक्टलेस हेण्डवास स्टेशन ’सञ्चालनमा ल्याएको हो ।
‘कन्टयाक्टलेस हेण्डवास स्टेशन’ सावुनपानीले हात धुँदा हातले धारा र साबुन केही पनि छुनुपर्दैन । धारा खोल्ने र बन्द गर्ने अनि हातमा साबुन हाल्ने सबै काम खुट्टाको सहयोगबाट हुन्छ । एउटा स्टेशनमा तीनवटा वेसिन सहितको धारा जडान गरिएकोले एकैपटकमा तीन जनाले हात धुन पाउँछन । मोरङको हात्तीमुढा स्थित मनमोहन पोलिटेक्निक विद्यालयमा पढेका मेकानिकल ओभरसियर योगेश निरौलाको डिजाइनमा उक्त्त ‘कन्टयाक्टलेस हेण्डवास स्टेशन’ निर्माण भएको हो ।
फरेनका सचिव खिलाप्रसाद निरौलाका अनुसार जोगवनी विराटनगर सीमा नाकाको जस्तै ‘कन्टयाक्टलेस हेण्डवास स्टेशन’ प्रदेश १ का विभिन्न ९ वटा क्वारेन्टाइनहरुमा पनि जडान गर्ने तयारी भरहेको छ ।