विराटनगर । सरसफाईको क्षेत्रमा सक्रिय संस्था परिवर्तनका लागी हातेमालोले विराटनगर–८ का सुकुम्बासीहरुलाई आवश्यक स्वास्थ्य सुरक्षाका सामाग्रीहरु वितरण गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस विरुद्ध एक जनचेतनामुलक कार्यक्रमको आयोजना गर्दै संस्थाले सोमबार सुकुम्बासी समुदायका करिब १ सय २० परिवारलाई मास्क र सेनिटाईजर लगायतका स्वास्थ्य सुरक्षाका सामाग्रीहरु वितरण गरेको हो । संस्थाले प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको सांसद विकास कोषबाटको सहयोगमा उक्त स्वास्थ्य सुरक्षाका सामाग्रीहरु वितरण गरेको हो ।
सो अवसरमा बोल्नुहुँदै कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले कोरोना भाईरसको सङक्रमणबाट जोगिन सर्वप्रथम स्वयंम सचेत हुनुपर्ने बताउनुभयो । उहाँले उपस्थित सुकुम्बासी परिवारहरुलाई दिनमा २०–२० मिनेटको अन्तरमा साबुनपानीले हात धुन, अनावश्यक रुपमा घर बाहिर हिँडडुल नगर्न, आवश्यक नै परे मास्क लगाएर मात्रै घर बाहिर निस्कन तथा सामाजिक दुरीको पालना गर्न आग्रह गर्नुभयो ।
यस्तै सोही अवसरमा कोरोना भाईरसबारे जानकारी दिनुहुँदै संस्थाका अध्यक्ष विनोद परियारले बस्तीमा बाहिरबाट आएका कोही शंकास्पद व्यक्ति देखा परेमा तुरुन्तै स्थानीय प्रशासनलाई जानकारी गराउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘स्वयंम जोगिए मात्रै, अरुलाई पनि जोगाउन सकिन्छ ।’
सो अवसरमा भने विराटनगर महानगरपालिकाका कोभिड स्वास्थ्य संयोजक हैदर अली, संस्थाका उपाध्यक्ष राम पोखरेल र सचिव तुलसी घिमिरे लगायतका सदस्यहरुको उपस्थिति रहेको थियो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।