विराटनगर / विराटनगरका विद्यार्थी सङ्गठनहरुले निजि क्षेत्रबाट सञ्चालित प्याब्सन र एन–प्याब्सनले विद्यार्थी र अभिभावकहरुको ढाड सेक्नेगरी शुल्क असुलेको बिषयप्रति आपत्ति जनाएका छन ।
शुक्रबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय विद्यार्थी संघले आपत्ति जनाएका हुन । कोरोना भाईरसको रोकथाम तथा न्युनीकरणका लागी जारी लकडाउनले आम विद्यार्थी तथा अभिभावकहरु जनजीवन कष्टगर बनेको अवस्थामा पनि विद्यालय सङ्गठनहरुले विभिन्न शीर्षकमा शुल्क लिईरहेको बिषय सन्तोषजनक नरहेको जारी विज्ञप्तिमा उल्लेख छ । लामो समयको लकडाउनले अधिकांश अभिभावकहरुको आयश्रोत ठप्प भएको छ । यस्तो विषम परिस्थितिमा पनि निजि विद्यालयहरुले अभिभावकहरुलाई २०७६ देखिको सम्पुर्ण बाँकी बक्यौता रकम सहित अहिलेसम्मको शुल्क तिर्न लगाउनु आफैमा खेदजनक रहेको विद्यार्थी सङ्गठनहरुको ठम्याई छ ।
शुक्रबार जारी विज्ञप्ति मार्फत विद्यार्थी सङ्गगठनहरुले अभिभावकहरुलाई तत्काल शुल्क नतिर्न आग्रह गर्दै विद्यार्थीहरुमा देखिन सक्ने मनोवैज्ञानिक असरको निदानका उपाय खोजी तत्कालै कार्यान्वयन गर्न तिनै तहका सरकारसँग माग गरेका छन ।