काठमाडौंलाई नाकाबन्दी गर्नुपर्ने भन्दै प्रदेशसभा बैठक अबरुद्ध

विराटनगर । नेपाली काँग्रेसले काठमाडौंलाई नाकाबन्दी गर्नुपर्ने भन्दै प्रदेश १ प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ ।

काठमाडौबाट बाहिर बस्ने नागरिकलाई काठमाडौं प्रवेशमा गरिँदै आएको अबरोधको विरोध गर्दै काँग्रेसले प्रदेश सरकारले संघीय सरकारसँग आफ्ना भनाइ राख्न नसकेकोमा संसद अबरुद्ध गरेको हो ।

सोमबारको संसद बैठक सुरु हुनासाथ कांग्रेसका सांसदले आफ्नो स्थानबाट उठेर विरोध गरेका थिए । सभामुख प्रदीपकुमार भण्डारीले प्रमुख विपक्षीलाई समय दिएर आफ्ना कुरा राख्न आग्रह गरेपछि प्रमुख सचेतक केदार कार्कीले आफ्नै मुलुकका नागरिकलाई नाकाबाट फर्काएर काठमाडौंले ज्यादती गर्दा पनि प्रदेश सरकार रमिते बनेको आरोप लगाउनुभयो । ‘काठमाडौं मुटु भनेर मान्यौं, राजधानी भन्यौं तर काठमाडौंबाट जो पनि सीडीओको पासमा आउनसक्छ । तर, काठमाडौं जान के–को रोक’ उहाँको प्रश्न थियो, ‘अब काठमाडौंलाई नाकाबन्दी गर्ने अभियान छ । किन प्रदेश सरकार बोल्न सक्दैन ?’

प्रदेश सरकारका सचिबले सीडीओको पास लिएर काठमाडौं जानुपर्ने अवस्थाले संघीयताको खिल्ली उडाएको काँग्रेसको भनाइ छ । सचेतक कार्कीले प्रदेश १ सरकारले पीसीआर टेस्टमा भएको खर्च सदनमा जानकारी गराउनुपर्ने मागसमेत गर्नुभयो । मुख्यमन्त्री शेरधन राईले कोरोनासँग लड्दैछौं भनेर भिडिओमा मात्र भन्ने गर्नुभएको भन्दै उहाँले सदनमा आएर हिसाब सार्वजनिक नगरेसम्म संसद चल्न नदिने बताउनुभयो ।

प्रदेशको नाम नआएको, यातायात व्यवसायीको दुखेको सरकारले नसुनेको, मजदुरको पीडा नबुझेको र प्रदेशसभाको शून्य समय र विशेष समयमा उठाइएका विषयमा जवाफ नदिएको भन्दै काँग्रेसले आपत्ती जनाएको हो । काँग्रेसले मुख्यमन्त्रीको जवाफ नआएसम्म बैठक चल्न नदिने जनाएको थियो ।

प्रमुख सचेतक कार्कीले बोलिसकेपछि पुनः काँग्रेसका सांसदहरु उठेर अबरोध गरेपछि सभामुख प्रदिपकुमार भण्डारीले १० मिनेको लागि बैठक स्थगित गर्नुभएको थियो । त्यसपछि बसेको दोस्रो बैठकमा पनि काँग्रेसका सांसदहरु उठेर विरोध जनाएपछि सभामुख भण्डारीले मंगलबार १ बजेसम्मको लागि बैठक स्थगित गर्नुभयो ।

काठमाडौंलाई नाकावन्दी गर्नुपर्छ

सोमबार, ०८ असार, २०७७, दिउँसोको ०१:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर