प्रविधिमैत्री गोठगाउँको कोभिड अस्पताल

घरकै खाना खान पाउने व्यवस्था

मोरङ । मोरङको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय टिचिङ अस्पतालको भित्र निर्माण गरिएको कोभिड–१९ आइसोलेसन अस्पताल प्रदेशकै नमूनाका रुपमा प्रविधियुक्त बनाइएको छ । इन्टरनेटबाट संक्रमितको लागि कोठा र बेड बुक गरिन्छ ।

इन्टरनेटबाट नै संक्रमितहरुको विवरण संकलन गर्ने र क्वारेन्टाईनबाट अस्पतालसम्म ल्याउने व्यवस्था मिलाइन्छ । अस्पताल आउनुपूर्व नै संक्रमितहरुले आफ्नो कोठा र बेडको अवस्थाका बारेमा जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ । इन्टरनेटको व्यवस्था रहेको यस अस्पतालमा बस्ने संक्रमितहरुले २४ सैं घण्टा आफ्ना समस्याका बारेमा चिकित्सकलाई राख्ने व्यवस्था मिलाइएको छ ।

जेठ २२ गते प्रादेशिक क्वारेन्टाइनबाट आइसोलेसन अस्पतालका रुपमा रुपान्तरण भएको यहाँ हालसम्म १ सय १८ जना कोरोना संक्रमितहरु भर्ना भएका छन् । तीमध्ये २ जनालाई रेफर गरिएको छ । ९ वटा ब्लक रहेको अस्पतालमा ५८ वटा कोठा र ४ वटा हल रहेका छन् । प्रत्येक कोठामा २ जना र हलमा ४ देखि ५ जनासम्म राख्ने व्यवस्था मिलाइएको कोभिड–१९ आइसोलेसन अस्पताल सञ्चालक समितिले जनाएको छ ।

हाललाई १ सय २५ जना क्षमता रहेको यस अस्पतालमा आवश्यकता अनुशार १ सय ३८ जनासम्म अट्न सक्ने गरि क्षमता विस्तार गर्न सकिने समितिले जनाएको छ । विरामीको उपचारका लागि प्रदेश सरकारले चारजना चिकित्सक र ३ जना स्वास्थयकर्मी खटाएको छ । जसको नेतृत्व डा. रोहित भण्डारीले गरिरहनुभएको मन्त्रालयका तर्फबाट खटिएका सम्पर्क अधिकृत धरणी निरौलाले बताउनुभयो ।

कोरोना संक्रमित भएका तर कुनै लक्षण नदेखिएका विरामी मात्र त्यस अस्पतालमा राखिने गरिएको छ । १५ देखि ४७ वर्ष उमेरका संक्रमित रहेको अस्पतालमा रहेका सबैको अवस्था सामान्य रहेको छ ।

घरकै खाना खान पाउँछन् संक्रमित

अस्पतालमा बस्ने संक्रमितहरुले आफ्नो इच्छा अनुसार घरकै खाना खान पाउने व्यवस्था मिलाइएको छ । आत्मबल कमजोर नहोस् र संक्रमितहरुले आफू परिवारभन्दा टाढा रहेको अनुभूति गर्न नपरोस् भन्ने उद्देश्यले खाना खाने व्यवस्था मिलाइएको सम्पर्क अधिकृत धरणी निरौलाले बताउनुभयो ।

दुरी कायम गरेर संक्रमितका परिवारसँग सामान्य कुराकानी समेत गर्नसक्ने व्यवस्था मिलाइएको छ । यसले विरामीको मनोबल बढ्ने र परिवारका सदस्यलाई समेत ढुक्क हुने स्थिती रहेको अस्पतालले जनाएको छ ।

अस्पतालले पनि क्याटरिङमार्फत खाना र खाजा बिरामीलाई वितरण गर्दै आएको छ । जुन सरकारी मापदण्ड अनुसार छ । बिरामीलाई बिहान चियाखाजा, खाना, दिउँसोको खाजा र रातिको खाना दिइन्छ । यस्तै साताको एकपटक मासुभात पाउँछन् ।

मङ्गलबार, ०२ असार, २०७७, बिहानको ०८:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर