विराटनगर । विराटनगरका औषधि व्यवसायी ३३ वर्षीय देवीप्रसाद दुलालको हत्या आरोपमा उनकै श्रीमतिसहित तीन जनालाई अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।
जिल्ला अदालत मोरङका न्यायधीश राजकुमार कोइरालाको इजालशले हत्या आरोपमा पक्राउ परेकी दुलालकी श्रीमति मीना श्रेष्ठ, सिराहा लहान नगरपालिका १० घर भई हाल विराटनगरमा बस्ने २१ वर्षीय ब्रहमदेव साह र इटहरी १२ का २० वर्षीय सोनु साहलाई थुनामा राख्न आइतबार आदेश गरेको हो ।
अदालतको ७ नम्बर इजालशमा भएको थुनछेक बहसमा वादीकोतर्फबाट जिल्ला सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता मुकुन्दकुमार रेग्मीले बहस गर्नुभएको थियो । थुनछेकमा वादी र प्रतिवादीका कानून व्यवसायीहरुले बहस गरेपछि आदेश आएको हो ।
अदालतको आदेशपछि तीन जना पुर्पक्षको लागि कारागार चलान भएको जिल्ला अदालत मोरङका स्रेस्तेदार इश्वरमणी ओझाले जानकारी दिनुभयो । इटहरी–१२ खनार घर भई विराटनगर १० मधुमारामा देवी माँ पाथीभरा फर्मा नामक औषधि पसल सञ्चालन गर्ने दुलालको गत जेठ ३ गते श्रीमति मिनाको योजना अनुसार प्रेमी ब्रमहदेवसहित तीन जना मिलेर हत्या गरेका थिए ।
दुलालको हत्या गरेपछि ओछ्यामा बेहोस भेटिएको भन्दै उनकी श्रीमति मीनाले विराटनगरस्थित गोल्डेन अस्पतालमा लगेकोमा उनको मृत्यु भइसकेको थियो । मृतकको शरिरमा चोट देखिएको र श्रीमति मीनाको भनाई बाझिएपछि अनुसन्धान गर्दा उनकै योजनामा हत्या भएको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको थियो । ब्रहमदेवसँग मिनाको अनैतिक सम्वन्ध श्रीमान देविप्रसादले थाहा पाएपछि मानसिक यातना दिएको भन्दै हत्या गरेका थिए ।
मोरङ प्रहरीले उनीहरूलाई ४ जेठमा पक्राउ गरेको थियो । प्रहरीले २५ दिन हिरासतमा राखेर अनुसन्धान पुरा गरि अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि शुक्रबार अदालतमा अभियोग दर्ता भएको थियो । कर्तब्य ज्यान मुद्दाका तीन जना प्रतिवादीहरूलाई जन्मकैदको मागदाबीसहित अदालतमा अभियोग पत्र दायर गरिएको सहायक जिल्ला न्यायाधिवक्ता मुकुन्दकुमार रेग्मीले जानकारी दिनुभयो ।