विराटनगर । आइतवार नेपालमा थप ४ सय २५ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमित ७३ जिल्लामा भेटिएको छ ।
नयाँ संक्रमितमध्ये ५० जना महिला र ३७५ जना पुरुष रहेका छन्। पछिल्लो पटक रुकुम पूर्वमा पनि कोरोना संक्रमित भेटिएका छन् । नेपालमा आइतवारसम्म संक्रमितको संख्या पनि बढेर ५ हजार ७६० पुगेको छ। जम्मा संक्रमितमध्ये महिला ४३६ जना छन् भने पुरुष ५ हजार ३२४ जना रहेका छन्।
प्रवक्ता डा.गौतमकाअनुसार विराटनगरमा भएको परीक्षणमा २७ जना, कोसी अस्पताल विराटनगर १० जना, नारायणी अस्पताल विरगञ्जमा ३४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा २ जना र सेती अस्पताल कैलालीमा ६४ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै भेरी अस्पताल बाँकेमा ७ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा १८ जना र धुलिखेल अस्पताल धुलिखेलमा २ जनामा संक्रमण देखिएको छ ।
अहिलेसम्म ९७४ जना संक्रमित कोरोना निको भएपछि घर फर्किएको मन्त्रालयले जनाएको छ । निको हुनेमा महिला ९७ जना र पुरुष ८७७ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ६१ जना डिस्चार्ज भएका छन्।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पनि १९ पुगेको छ। पछिल्लो पटक गुल्मीको रेसुंगा नगरपालिकास्थित आइसोलेसनमा उपचार गराइरहेका धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको शनिबार राति १० बजे मृत्यु भएको हो।

