काठमाडौं । शनिबार प्रतिनिधिसभाबाट नेपालको नयाँ नक्सालाई निशान छापमा समेट्ने संविधान संशोधन प्रस्ताव पारित गर्दा १२ जना सांसद अनुपस्थित थिए ।

प्रतिनिधिसभामा २७५ सांसद रहेकोमा बैठकमा उपस्थित २५८ सांसदले प्रस्तावको पक्षमा मतदान दिए भने बाँकी १७ जनामा ४ जना निलम्बित रहेको र सभामुखले मतदान गर्न नपाउने भएकोले १२ जना सांसद बैठकमा अनुपस्थित रहेका थिए ।

बैठकमा सत्तारुढ नेकपाका ४, काँग्रेसका ३, राजपाका ३ र समाजवादीका २ सांसद अनुपस्थित रहेका थिए । उनीहरु बैठकमा सहभागी नहुनुको कारणबारे विभिन्न चर्चा र आलोचना भइरहेको छ ।  संसद्मा अनुपस्थित रहेका सांसदमध्ये धेरैले बिरामी भएर आफू आउन नसकेको बताएका छन् ।

नेकपाका मुगुका सांसद गोपालबहादुर बम घाँटीमा इन्फेक्सन भएकोले बैठकमा सहभागी नभएको पाइएको छ । दलमा जानकारी गराएर नर्भिका उपचारपछि उनी आराम गरिरहेको नेकपाले जनाएको छ ।

नेकपाकै अर्का सांसद हरिबोल गजुरेल लडेर घाइते भएपछि उपचारमा रहेका छन् । घरमै ट्वाइलेटमा चिप्लिएर लडेपछि उनी अशक्त भएको नेकपाका सचेतक शान्ता चौधरीले बताउनुभयो ।

नेकपाका अन्य दुई सांसद धनबहादुर बुढा र शिवकुमार मण्डल पनि बैठकमा अनुपस्थित रहे। मण्डल विराटनगरमा रहेकोले बैठकमा सहभागी नभएको बताइएको छ । बुढाले भने सुगर बढेर आउन नसक्ने बताएको नेकपाले जनाएको छ ।

कांग्रेस सचेतक पुष्पा भुसालले काँग्रेसका तीनै जनाको स्वास्थ्यमा समस्या रहेको र दललाई पूर्व जानकारी गराएको बताउनुभयो । ज्ञानकुमारी छन्त्याल गंगालाल अस्पतालमा भर्ना भएको, किड्नीका विरामी सूर्यबहादुर केसी पोखरामा रहेको र नागेन्द्र कुमार पनि स्वास्थ्य समस्याले नआएको भुषालको भनाइ छ ।

राजपाका पनि ३ सांसद बैठकमा अनुपस्थित भएका थिए। सांसद अमृता अग्रहरी बैठकमा सहभागि भएपनि मतदान सुरु हुनुअघि बैठक कक्षबाट बाहिरिएकी थिइन्। आपूmलाई डाइरिया भएपछि घर गएको उहाँको भनाइ छ ।

राजपाकै अर्की सांसद दुलारी देवी खत्वेनी भने छोराको विवाहमा सहभागी हुन सप्तरी पुगेकोले फर्कन नपाएको बताइएको छ । राजपाका अनुपस्थित अर्का सांसद प्रमोद साहले स्वास्थ्यकै कारण उपस्थित हुन नसकेको बताउनुभयो । ु

समाजवादी पार्टीका दुई सांसद मत विभाजनमा अनुपस्थित भएका थिए। समाजवादी पार्टीकी सांसद सरिता गिरी बैठकमा सहभागि भएपनि बहिष्कार गरेर हिँडेकी थिइन्। समाजवादीकै अर्का सांसद सूर्यनारायण यादवले भने आफू व्यक्तिगत कारणले सप्तरी आएकोले फर्कन नपाएको बताउनुभयो ।