विराटनगर । लिम्पियाधुरासहितको नेपाली भूभाग समेटिएको नक्सा निशान छापमा राख्न गरिएको संविधान संशोधनमा १२ जना सांसदहरु अनुपस्थित भएका छन् ।
प्रतिनिधिसभामा २७५ सांसद रहेकोमा संविधान संशोधनको पक्षमा २५८ मत खसेको छ । उपस्थित सबैले पक्षमा मत दिएका हुन् ।
बैठकमा उपस्थित भएपनि जनता समाजवादी पार्टीकी सांसद सरिता गिरी आफ्नो संशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरेको विरोधमा बोल्न नपाएपछि बाहिरिएकी थिइन् । यस्तै चार जना सांसदहरु निलम्बित रहेकोले बैठकमा सहभागी थिएनन् ।
गिरी र निलम्बितबाहेक ११ जना सांसद पनि शनिबारको बैठकमा अनुपस्थित रहेको जानकारी संसद सचिबालयले दिएको छ । अनुपस्थित हुनेमा नेकपाका ४, राजपा र नेपाली कांग्रेसका समान ३–३ सांसद छन् भने समाजवादी पार्टीका २ सांसद छन् ।
अनुपस्थित हुनेमा राजपाकी अमृतादेवी अग्रहरी, दुलारीदेवी खत्वेनी र प्रमोद साह, नेकपाका गोपालबहादुर बम, हरिबोल गजुरेल, धनबहादुर बुढा र शिवकुमार मण्डल, नेपाली कांग्रेसका नागेन्द्रकुमार राय, सूर्यबहादुर केसी र ज्ञानकुमारी छन्त्याल, समाजवादी पार्टीकी सरिता गिरी र सूर्य नारायण यादव रहेका छन्।
यस्तै संसद पद नै निलम्बनमा परेकोले काँग्रेसका विजयकुमार गच्छदार र मो. आफताव आलम तथा जसपाका हरिनारायण रौनियार र रेशम चौधरीले बैठकमा भाग लिन पाएनन् । सभामुख अग्निप्रसाद सापकोटाले निर्णायक अवस्थामा मात्र मत दिने प्राबधान रहेकोले संशोधनको पक्षमा २५८ मत खसेको हो ।
संविधान संशोधनको लागि आवश्यक दुई तिहाइ पुग्न १९१ सांसदको मत आवश्यक रहेकोमा उपस्ति सतप्रतिशत मत पक्षमा खसेपछि संविधान संशोधन सर्वसम्मत रुपमा भएको हो ।