विराटनगर । प्रतिनिधिसभाबाट लिम्पियाधुरासहतिको नेपाली भूमि समेटिएको नक्सा अंकित गर्नेगरी निसान छाप परिवर्तन गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ ।

शनिबारको प्रतिनिधिसभा बैठकमा कानूनमन्त्री शिवमायाँ तुम्बाहाम्फेले पेश गर्नुभएको प्रस्ताव सर्वसम्मतले पारित भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तावलाई निर्णायर्थ पेश गर्नुभएको थियो । त्यसपति मतविभाजनबाट गरिएको मतदानमा प्रस्तावको उपस्थित २५८ सांसदमध्ये पक्षमा २५८ र विपक्षमा ० मत परेको थियो । प्रतिनिधिसभामा २७५ सदस्य छन् ।

प्रस्तावमाथि संशोधन हालेकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीको प्रस्ताव सभामुख अग्निप्रसाद सापकोटाले खारेज गरेपछि मुल प्रस्ताव मात्र सदनमा पेश भएको थियो । उक्त प्रस्तावमा नेताहरुले समर्थनसहितको धारणा राखेपछि मतदान भएको थियो ।

सरकारले जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो भने ७ गते सार्वजनिक गरेको थियो । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ९ गते नै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।