बिरामी र कुरुवाको सहारा बन्दै प्रणामी

विराटनगर/श्री कृष्ण प्रणामी युवा परिषद नेपालले विगत ६८ दिनदेखि लकडाउन प्रभावित बिरामी तथा कुरुवाहरुलाई निःशुल्क भोजन गराउँदै आएको छ । परिषदले विराटनगरस्थित नोबले मेडिकल कलेजमा उपचाररत बिरामी तथा कुरुवाहरुलाई निःशुल्क भोजन गराउँदै आएको हो ।

विगत अढाई बर्ष पहिले सुरुवात गरिएको उक्त अभियानले हाल लकडाउन भएदेखि मुर्त रुप पाएको छ । विगतमा विराटनगरस्थित नोबेल मेडिकल कलेज, कोशी अस्पताल, गोल्डेन अस्पताल र ग्रीनक्रस अस्पतालका करिब ४ सय जनालाई दैनिक निःशुल्क भोजन गराउँदै आएको परिषदले हाल नोबेल मेडिकल कलेजमा उक्त अभियानलाई निरन्तरता दिएको छ । लकडाउनका कारण नोबेलमा बिरामीको चाप न्युन हुँदै गएपछि हाल दैनिक २ सय जनालाई निःशुल्क भोजन गराउँदै आएको परिषदका विराटनगर अध्यक्ष गोकुल कोईरालाले बताउनुभयो ।

परिषदमा आबद्ध सदस्यहरु स्वयंमले विराटनगरस्थित श्री कृष्ण प्रणामी मन्दिरको प्राङ्गणमा खाना पकाएर प्याक गरि दैनिक बेलुका ५ बजे नोबेल मेडिकल कलेज पुग्ने गरेको परिषदकी सदस्य करुणा मैनालीले बताउनुभयो । उहाँले कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरेर खाना वितरण गर्दै आएको जानकारी दिनुभयो ।

यसरी लकडाउनमा परिषदले निःशुल्क सफा, शुद्ध र शाकाहारी खानाको व्यवस्थापन गरिदिँदा आफुहरुलाई समेत केही हदसम्म सहज भएको अस्पतालमा उपचाररत बिरामीका आफन्तहरुले बताएका छन ।

श्री कृष्ण प्रणामी युवा परिषदले भने यसरी निःशुल्क खानाको व्यवस्थापन गरिदिँदा विराटनगरमा उनीहरु जस्तै अन्य थुप्रै व्यक्तिहरुले पनि खुशी व्यक्त गरेका छन । लकडाउनको बाबजुद पनि निरन्तर चलिरहेको यस अभियानले यसरी नै निरन्तरता पाओस ।

बुधबार, २८ जेठ, २०७७, रातीको ०८:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर