विराटनगर । नेपाली काँँग्रेस प्रदेश नम्बर १ प्रदेशसभाका सचेतक सुयर्माराज राईले निजी स्वास्थ्य संस्थाहरूलाई राष्ट्रियकरण गर्नुपर्ने माग गर्नुभएको छ ।
प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा माग लिँदै सांसद राईले निजी स्वास्थ्य संस्थाहरूले कुनैपनि सकारात्मक भूमिका निर्वाह गर्न नसकेको दावी गर्नुभयो ।
कोरोना महामारीको बेला पनि निजी अस्पतालहरूले नागरिकको मौलिक हकको सम्बोधन गर्न नसकेको भन्दै राईले प्रदेशसभाबाट निजी स्वास्थ्य संस्था राष्ट्रियकरण गर्ने प्रस्ताव पारित गरेर संघीय सरकारमा पठाउन प्रस्ताव गर्नुभएको छ । राईले पटक–पटक विरामीको उपचारमा लापर्वाही गर्ने र महामारीको बेला उपचार नगर्ने निजी अस्पतालमाथि कार्वाही र राष्ट्रियकरणको मुद्दा उठाउँदै आउनुभएको छ ।
कोरोना महामारीको बेला विराटनगरको नोबेल मेडिकल कलेजले पटक–पटक विरामीलाई उपचारबाट बञ्चित गर्दै आएको छ । अपरेशन थिएटरमा लगेपछि विरामीलाई कोरोना संक्रमित क्षेत्रको भएको वा खोकेको बहानामा निकाल्दै आएको छ । नोबेलले निकालेको विरामीको कोशी अस्पताल विराटनगरमा भने कोरना परीक्षणविनै उपचार हुने गरेको छ ।
विराटनगरका निजी अस्पतालले कोरोना महामारीको समयमा उपचार गर्न नमानेकै कारण सुनसरीका एक युवा र धनकुटाकी एक महिलाको मृत्यु भइसकेको छ । प्रदेश सरकारले विरामीको उपचार गर्न नमान्ने अस्पताललाई कार्वाही गर्ने चेतावनी दिएपनि कार्वाही नगरेको बेला संसदहरुले बारम्बार कार्वाहीको माग गर्दै आएका छन् ।
नेपाली काँग्रेसकै संसदीय दलको उपनेता हिमाल कार्कीले पनि उदयपर घर भएकै कारण विरामीको उपचार नगर्ने नोबेलमाथि कार्वाहीको माग गर्नुभएको थियो । नोबेल नेपाली काँग्रेसका महासमिति सदस्य सुनिल शर्माले सञ्चालन गरेको मेडिकल कलेज हो ।