इनरुवा । झोडा फडानी भएसँगै स्थापना भएको इनरुवा अस्पतालमा एक वर्ष अगाडिदेखि सुरु गरिएको सिजेरियन डेलिभरी सेवाका स्वास्थ्यकर्मीलाई शनिवार सम्मान गरिएको छ ।
प्रदेश एक सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा इनरुवा अस्पतालमा सिईओएनसीमा सुरु गरिएको सिजेरियन डेलिभरी सेवाबाट एक वर्षमा ६० जना गर्भवती महिलाले बच्चा सकुसल अप्रेसन गरेर निकालिएको भन्दै अस्पतालले विभागमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको हो ।
इनरुवा अस्पतालमा गर्भवती महिलाले सुत्केरी व्यथाले च्यापेपछि सेवा लिन आउने इनरुवा तथा आसपासका गर्भवती महिलाहरुले नर्मल डेलिभरी नहुने अवश्थामा इनरुवा बाहिरको निजी अस्पतालमा महँगो शुल्क तिरेर बच्चा जन्माउन बाध्य हुँदै आएका थिए ।
इनरुवा अस्पतालमा करार सेवामा कार्यरत डा बालकृष्ण साह नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले जोखिम मोलेर रक्त संचार सेवा बिना इनरुवा अस्पतालमा प्रदेश सरकारको सहयोगमा सिजेरियन डेलिभरी सेवा दिएपछि यस भेगका गर्भवती महिलाहरुले निशुल्क सेवा पाएका हुन् ।
नर्मल डेलिभरी हुन नसकेको अवश्थामा पेटभित्र नै बच्चाले दिसा गरेमा, बच्चा निक्लने बाटो बन्द भएमा, बच्चाको तौल कम भएमा, बच्चा उल्टो बसेमा, बच्चा ठूलो भएमा वा अनियमित भएमा, गर्भवतीलाई उच्च वा कम रक्तचाप भएमा मधुमेह भएमा र कतिपय अवस्थामा आमाको उमेरका कारण पनि शल्यक्रिया गर्नुपर्ने अवस्था आएमा सिजेरियन डेलिभरी गराउने गरिएको छ ।
इनरुवा नगरपालिकाका मेयर राजन मेहताले स्त्रीरोग तथा प्रसुती विशषेज्ञ डा. बालकृष्ण साह, प्रसुती विज्ञ डा. प्रेक्षा लिम्बू, एनेस्थेटिस्ट सहायक प्रविण तथा अजेन्द्र यादव, स्क्रव सिस्टर निशा मेहता र रेनु साह, का.स. संगीता बजगाई, स्विपर पुल्कित मरिकलाई सम्मान गरिएको हो ।
त्यस्तै सिजरियन सुरु गर्न तत्कालीन अवस्थामा ईमर्जेन्सी बिभाग प्रमुख सिअहेव गुणान्द झा, प्रशासन फाँटका उमेश गौतम, ईन्डोरकी ईन्दिरा गौतमलगायतले सहयोग गरेकाले शल्यविभागले उहाँहरुलाई पनि सम्मान गरेको थियो ।
सिजरियन गर्दा प्रारम्भिक अवस्थामा इनरुवा नगरपालिकाका तथा मेयर राजन मेहताले औषधिहरु दिएर सहयोग गरेकाले नगर प्रमुखलाई मायाको चिनो दिदै धन्यवाद दिएका थिए । मेसु डा सन्तोष राईको अध्यक्षतामा भएको सो कार्यक्रममा अस्पताल विकास समितिका सदस्य रामप्रसाद मेहता, कानुन अधिकारी, नेकपाका नेता गोपी ढकाल, स्वास्थ्य संयोजक बसन्त सुवेदी तथा अस्पतालका कर्मचारीहरु लगायतको सहभागीता रहेको थियो ।