विराटनगर । बिहीबार १६ जना कोरोना संक्रमित थपिएपछि प्रदेश १ मा कोरोना संक्रमितको संख्या २०१ पुगेको छ ।
विहीबार प्रदेशको झापा भद्रपुर नगरपालिकामा ३, कचनकवल गाउँपालिकामा २, खोटाङको हलेसी नगरपालिकामा ३, सुनसरीको भोक्राहा गाउँपालिकामा २, गढी गाउँपालिकामा २, बराह क्षेत्र नगरपालिकामा ३ र मोरङको सुन्दरहरैचा नगरपालिकामा १ गरी १६ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश १ का १४ मध्ये १२ जिल्लामा संक्रमित फेला परेका छन् । अहिलेसम्म इलाम र ओखलढुंगामा मात्र संक्रमित देखिएको छैन ।
बुधबार ताप्लेजुङ, तेह्रथुम र पाँचथरका व्यक्तिमा संक्रमण देखिएको थियो । बुधबार ताप्लेजुङका ३, पाँचथरका एक, सुनसरीका ८, मोरङ र झापाका २–२ तथा धनकुटा र तेह्रथुमका एक–एक जनामा कोरोना देखिएको थियो ।
झापा, उदयपुर, धनकुटा, मोरङ, सुनसरी, भोजपुर, खोटाङ, संखुवासभा, सोलुखुम्बु, पाँचथर, ताप्लेजुङ, तेह्रथुममा संक्रमित पुष्टि भएको प्रदेश सरकारले जनाएको छ । प्रदेशमा भेटिएका अधिकांश संक्रमितहरु भारतबाट आएका छन् ।
यसैबीच कोशी अस्पताल विराटनगर कोभिड १९ उपचार केन्द्रबाट बिहीबार २७ जना र विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना गरी ३० जना संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ७८ पुगेको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।
बिहीबार विराटनगरबाट उदयुरका ३, झापाका ७, मोरङका ६, सुनसरीका ४, धनकुटाका ४, खोटाङका १ र सप्तरीका २ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा कोरोना जित्नेमा ४ जना महिला र २३ जना पुरुष छन् । बिपीबाट पनि झापाका ३ जना डिस्चार्ज भएका हुन् ।