दलित युवकको हत्या विरोधमा प्रदर्शन

उर्लाबारी । अन्तरजातीय विवाहको विषयलाई लिएर रुकुम पश्चिममा दलित युवक नवराज विकसहित चारजनाको हत्या भएको भन्दै मोरङको उर्लाबारी नगरपालिका ३ मंगलबारेस्थित विरोध प्रदर्शन भएको छ ।

दलित संघर्ष समिति एवम विश्वकर्मा समाज सेवा समिति उर्लाबारीको अगुवा तथा राजनीतिक दलका नेता–कार्यकर्ताकहरूको सहभागितामा मंगलबारेमा बिहीबार भेला भएर प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

करिब दुई सय जनाको संख्यामा उपस्थित उनीहरूले ‘जातीय आधारमा हत्या कहिलेसम्म ?’, ‘हामी कहिलेसम्म मौन बस्ने ?’ ‘जवाफदेही को ?’, ‘मान्छे मान्छेमा के फरक छ र ?’, ‘संविधानले दिएको अधिकार कहिलेसम्म उल्लंघन गर्ने ?’ लगायतका नारा लेखेको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि आयोजित कोडसभामा बोल्दै उर्लाबारी नगरपालिका ३ की वडा सदस्य सम्झना नेपालीले यस्तो घटना जातीय विभेदको आधारमा भएको जघन्य अपराध भन्दै निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारवाहीको माग गर्नुभयो । घटनालाई सत्ता र शक्तिको आडमा ढाकछोप र अपव्याख्या नगर्न आग्रह गर्दै उहाँले त्यसो गरिए दलितहरु सडकमा आउने चेतावनी दिनुभयो ।

कार्यक्रममा बोल्दै विश्वकर्मा समाज सेवा समिति उर्लाबारीका अध्यक्ष खड्गबहादुर सुनुवारले यस घटना मानवताविरुद्धको क्रुर अपराध भएको भन्दै यो घटनाले नेपाललाई विश्वमै कलंकित र लज्जित बनाएको बताउनुभयो । दोषीलाई कारवाही र पीडितले न्याय नपाएसम्म यो घटना नसेलाउने भन्दै सरकारले यसलाई गम्भीर रुपमा लिनुपर्ने बताउनुभयो ।

जाजरकोट भेरी नगरपालिका–४ का नवराज विक आफ्नी प्रेमिका रुकुम चौरजहारी नगरपालिका ८ सोती गाउँकी मल्ल थरकी किशोरीसँग विहे गरी १९ जनासहित जाँदा स्थानीयले आक्रमण गरेका थिए । त्यस क्रममा आक्रमणबाट बच्न भेरी नदीमा हामफाल्दा ४ जनाको मृत्यु भएको छ भने २ जना अझै बेपत्ता छन् ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र

घटनाको विरोधमा दलित अधिकारकर्मीहरुले इलका प्रशासन कार्यलयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका छन् । दोषीलाई कारवाही, मृत्यु भएका युवाहरूलाई सांस्कृतिक सहिद घोषणा र घटनाको संसदीय छानबिन समिति गठनको माग गर्दै मंगलबारेस्थित रहेको इलाका प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

बिहिबार, १५ जेठ, २०७७, रातीको ०८:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर