इच्छुकको स्मृतिमा पत्रकारलाई एप्रोन

विराटनगर । प्रेस संगठन नेपाल मोरङले सहिद पत्रकार कृष्ण सेन ईच्छुकको १८ औं स्मृति दिवसका अवसरमा सञ्चारकर्मीहरुलाई एप्रोन र स्वास्थ्य सामग्री वितरण गरेको छ ।

विराटनगरमा उपलव्ध पत्रकारहरुको उपस्थितिमा जनमुखि पत्रकारिताका माध्यमबाट सर्वहारा वर्गको राज्यसत्ता स्थापनाका लागि गर्नुभएको योगदानको चर्चा गरिएको थियो ।

नेपाल पत्रकार महासंघ प्रदेश समितिका महासचिव विवेक गौतमले पत्रकारिता र साहित्वको माध्यमबाट जनतालाई राजनीतिक परिवर्तनको सन्देश प्रवाह गर्ने क्रममा २०५९ सालमा प्रहरीले पक्राउ गरेपछि जेठ १३ गतेकै दिन महेन्द्र पुलिस क्लवमा यातना दिएर हत्या गरेको बताउनुभयो । उहाँले राज्यसत्ताले जहिलेसुकै आफ्नो प्रसंशाको गीत मात्र गाउन दिने र आलोचनाको स्वरमाथि बन्देश गर्ने चरित्र अहिले पनि कायम रहेको बताउनुभयो । पत्रकारले जहिले पनि स्वतन्त्रताको पक्षमा र आवाजविहीनको पक्षमा आवाज बोलिरहनु पर्ने उहाँले बताउनुभयो ।

अग्रज तथा नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष यज्ञ शर्माले स्वर्गीय पत्रकार कृष्ण सेन इच्छुकले व्यवसायिक र मिसन पत्रकारितको क्षेत्रमा गर्नुभएको योगदानलाई सबैले सम्झिनु पर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष वन्धु पोखरेलले स्वर्गीय पत्रकार कृष्ण सेन इच्छुकको सपना थोरै भएपनि गणतन्त्र स्थापना भएर पुरा भएको र जनजीविकाको सवालमा सरकारले अझ धेरै काम गरेर उहाँका बाँकी सपना पुरा गर्नुपर्ने बताउनुभयो ।

इच्छुक स्मृति दिवशको अवसरमा प्रेस संगठन नेपाल मोरङले पत्रकारहरुका लागि आवश्यक एप्रोन, मास्क र केही थान सेनिटाइजर उपलव्ध गराएको थियो ।
कार्यक्रममा प्रेस संगठन नेपालका केन्द्रीय सदस्यहरु रामचन्द्र अधिकारी, गणेश लम्साल लगायतको उपस्थिति रहेको थियो ।

मङ्गलबार, १३ जेठ, २०७७, रातीको ०९:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर