काठमाडौं । कर्णाली प्रदेशको सुर्खेतमा मंगलबार थप १२ जनामा कोरोना पुष्टि भएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक महिलासहित ८ जना, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा दुई–दुई जना पुरुषमा कोरोना पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
वीरेन्द्ररनगर नगरपालिका १ मा १६ वर्षीय किशोर, वडानम्बर २ मा ३२ वर्षीय महिला र ९ वर्षीय बालकसहित २०, ३२ र ३६ वर्षका पुरुष, वडानम्बर ३ मा ४६ वर्षका पुरुष र वडानम्बर ६ मा २६ वर्षका युवकमा कोरोना पुष्टि भएको छ । यस्तै पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका ८ मा १६ र १७ वर्षीय दुई पुरुष र सिम्ता गाउँपालिका ४ मा ३५ र ४९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसँगै सुर्खेतमा संक्रमितको संक्रमितको संख्या १५ पुगेको छ भने कर्णाली प्रदेशमा २३ पुगेको मन्त्रालयले जनाएको छ । नयाँ पुष्टि भएका सबै संक्रमित भारतबाट आएका हुन् । उनीहरुलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनमा लैजाने तयारी गरिएको छ ।
कणालीमा १२ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संक्रमितको संख्या ६९४ पुगेको छ । उनीहरुमध्ये १५५ जना उपचारपछि निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।