लोड हुँदैछ...

मेनु

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुग्यो

विराटनगर। वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मृत्यु भएको ८ दिनपछि बाराको कलैया उपमहानगरपालिका ७ निवासी बृद्धमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । ती पुरुषको जेठ ४ गते नै मृत्यु भएको थियो ।

उपचारको क्रममा मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।

वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पनि मृतक वृद्धको पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । बृद्धमा कोरोना रहेको पुष्टि भएपछि नेशनल मेडिकल कलेजलाई सिल गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई उनको परिवारले जेठ २ गते अस्पतालको भेन्टिलेटरमा भर्ना गराएका थिए । तर, कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति वृद्धको मृत्यु भएको थियो ।

अस्पतालले वृद्धको शव परिवारको जिम्मा लगाएपछि मृतकका आफन्तले पनि धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरिसकेका छन् । नेशनल मेडिकल कलेजले लापरबाही गर्दै जेठ ४ गते स्वाब परीक्षण रिपोर्ट नआई परिवारलाई शव जिम्मा लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।