नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुग्यो

विराटनगर। वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मृत्यु भएको ८ दिनपछि बाराको कलैया उपमहानगरपालिका ७ निवासी बृद्धमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । ती पुरुषको जेठ ४ गते नै मृत्यु भएको थियो ।

उपचारको क्रममा मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।

वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पनि मृतक वृद्धको पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । बृद्धमा कोरोना रहेको पुष्टि भएपछि नेशनल मेडिकल कलेजलाई सिल गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई उनको परिवारले जेठ २ गते अस्पतालको भेन्टिलेटरमा भर्ना गराएका थिए । तर, कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति वृद्धको मृत्यु भएको थियो ।

अस्पतालले वृद्धको शव परिवारको जिम्मा लगाएपछि मृतकका आफन्तले पनि धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरिसकेका छन् । नेशनल मेडिकल कलेजले लापरबाही गर्दै जेठ ४ गते स्वाब परीक्षण रिपोर्ट नआई परिवारलाई शव जिम्मा लगाएको थियो ।

सोमबार, १२ जेठ, २०७७, दिउँसोको ०३:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर