लोड हुँदैछ...

मेनु

नेपालमा कोरोनाबाट पहिलो मृत्यु, सिन्धुपाल्चोककी महिलाको मृत्युको कारण कोरोना भएको पुष्टि

नेपालमा कोरोनाबाट पहिलो मृत्यु, सिन्धुपाल्चोककी महिलाको मृत्युको कारण कोरोना भएको पुष्टि

विराटनगर । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट पहिलो मृत्यु भएको छ । नेपालमा पहिलो कोरोना संक्रमण देखिएको ४ महिना पुग्नलाग्दा एक संक्रमितको मृत्यु भएको शनिबार पुष्टि भएको हो ।

सिन्धुपाल्चोक बाह्रेबिसे नगरपालिका ९ राम्चेकी २९ वर्षीया महिलाको कोभिड १९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी गराएपछि आमाछोरा दुबैको स्वास्थ्य सामान्य रहेकोले उनीहरू २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए । तर, उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएपछि बिहीबार बाह्रबिसेस्थित स्वास्थ्य केन्द्र लगिएकोमा कोरोनासँग मिल्ने लक्षण देखिएको र आरडिटी पोजेटिभ देखिएको भन्दै उसले धुलिखेल अस्पताल रेफर गरेको थियो ।

तर, उनको धुलिखेल अस्पताल लैजाने क्रममा बिहीबार राति बाटोमा नै मृत्यु भएको थियो । धुलेखेलमा उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुनः परीक्षण गरियो । दोस्रो परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आयो । उनको मृत्यु कोरोनाकै कारण भएको घोषणा गर्नुपूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नै अध्ययन टोली धुलिखेल अस्पतालमा पठाएको थियो ।

टोलीको रिपोर्टका आधारमा मन्त्रालयले उनको मृत्यु कोरोनाका कारण भएको घोषणा गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले शनिबार साँझ विज्ञप्ति जारी गर्दै उनको विस्तृत विवरण लिएको र कोभिड १९ सँग सम्वन्धित थप परीक्षण पश्चात नेपालमा कोभिड १९ बाट मृत्युभएको पहिलो घटना भएको पुष्टि गर्नुभएको हो ।

कोरोनाबाट सुत्केरी महिलाको मृत्यु भएपछि उनको शव धुलिखेल अस्पतालबाट नेपाली सेनाको टोलीले आर्यघाट लगेको छ । मृृतकको शनिबार नै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिनेछ ।

घर र माइती गाउँ सिल
यसैबीच मृतकको घर र माइती गाउँलाई सिल गरिएको छ । मृतकको घर बाह्रबिसे ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिनुभयो ।

माइती गाउँबाट आफन्तहरु भेट्न गएकाले गाउँ पनि सिल गरिएको हो । सिल गरिएका वडाबाट कोही व्यक्ति बाहिर आउन र वडाभित्र प्रवेश गर्न पाउने छैनन् । सिल गरिएको क्षेत्रमा सेना र प्रहरी परिचालन गरिएको छ ।

यस्तै मृतकको हालै स्वास्थ्य जाँच गराएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिएको छ । उनको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने र क्वारेन्टाइनमा राख्ने पनि निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।