काठमाडौं । उपचारको क्रममा मृत्यु भएकी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको पिसिआर परीक्षणमा पोजेटिभ देखिएको छ ।
शिक्षण अस्पतालमा सुत्केरी भएपछि घर फर्किएकी महिलाको स्वासप्रश्वासमा समस्या आएपछि धुलिखेल अस्पतालमा उपचारको क्रममा बिहीबार मृत्यु भएकोमा पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।
बिहीबार नै धुलिखेल अस्पतालमा भर्ना गरिएकी महिलालाई स्वास फेर्न कठिन भइरहेकोले भेन्टिलेटरमा राखिएको थियो । तर, उनलाई बचाउन नसकेको अस्पतालले जनाएको छ । महिलाको मृत्यु भएपछि धुलेखेल अस्पतालकै प्रयोगशालामा स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको र थप यकिन गर्न हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको छ ।
बैशाख २३ गते काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बच्चा जन्माएकी महिला २४ गते डिस्चार्ज भएको बताइएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकी ती महिलाको मृत्यु भएपछि अस्पताल सील गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोक बाह्रबिसेकी महिलाको मृत्यु कोरोना भाइरसको कारण भए नभएको अध्ययन गर्ने जनाएको छ । अस्पतालकै ल्याबमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएकोमा कोरानाबाट मृत्यु भए नभएको अध्ययन भइरहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।
परीक्षणहरुको र सम्पूर्ण विवरणहरु प्राप्त भइसकेपछि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक रुपमा कोभिड १९ सँगको सम्बन्धित मृत्यु हो वा होइन भन्ने कुरा निर्क्योल गर्ने जनाएको छ ।
यसैबीच मृत्यु भएकी महिलाको आफन्तको स्वाब निकालेर परीक्षण सुरु गरिएको छ । अस्पतालले आफन्तलाई पनि शव छुन नदिई छुट्टै राखेको जनाएको छ । शनिबार दिउँसो नै मृतकको श्रीमान, सासु र नन्दको स्वाब संकलन गरी परीक्षणमा पठाइएको छ । उनको बच्चाको पनि स्वाब परीक्षण गर्ने तयारी भएको छ ।
दु:खद खबर !