विराटनगर । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा छुटेको भूमिसमेत समावेश गरी नेपालको नक्सा जारी गर्ने उल्लेख छ ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने उल्लेख गर्नुभएको छ । सीमा व्यवस्थापन गर्न थप बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्नेसमेत उहाँले बताउनुभयो ।
नेपालको हालको नक्सामा लिम्पियाधुरासहित केही क्षेत्र समावेश छैन । संसदीय समितिहरुले छुटेको क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्न ६ महिना अगाडि नै निर्देशन दिएपनि अहिलेसम्म कार्यान्वयन भएको छैन ।
यसअघि शुक्रबार बनेको नेकपा सचिबालय बैठकले पनि नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गर्ने बताउनुभएको थियो ।
सचिवालयको बैठकमा नेताहरुले भारतले नेपाली भूमिमा मनपरी गरिराख्ने तर नेपालचाहिँ चुप लागेर बसिराख्ने भन्दै आपत्ति जनाएका थिए । त्यसपछि प्रधानमन्त्रीले तत्कालै नक्सा जारी गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । पहिला नक्सा जारी गर्ने त्यसपछि वार्ता र छलफल पनि अगाडि बढाउनुपर्ने नेताहरुको सुझाब थियो ।
भारतले पछिल्लो समय लिपुलेकमा सडक निर्माण गरेको थियो । यी तीन क्षेत्रलाई समेटेल गत मंसिरमा भारतले आफ्नो नक्सा पनि जारी गरेको थियो । जसको नेपालमा व्यापक विरोध भइरहेको छ ।

