धनकुटा । धनकुटामा बालिकामाथि यौनशोषण गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । धनकुटा –६ बस्ने १३ वर्षीय दलित बालिकालाई लामो समयदेखि यौनशोषण गर्ने शिक्षकसहित तीन जना पक्राउ परेका हुन् ।
माथिल्लो गोकुण्डेश्वर माविमा पढाउने मदन अधिकारीसहित गौरी अत्री, देवेन्द्र श्रेष्ठ र भक्तबहादुर मगरले यौनशोषण गर्दै आएको बालिकाले बताएको प्रहरीले जनाएको छ । बालिकाले अधिकारकर्मी र प्रहरीलाई दिएको बयानमा ४ जनाले पटक–पटक यौनशोषण गरेको खुलेको धनकुटा प्रहरीले जनाएको छ ।
आरोपीमध्ये देवेन्द्र, भक्तबहादुर र गौरी अत्री पक्राउ परेका छन् । बालिकाका आफन्तले बिहिबार उजुरी दिएपछि उनीहरुलाई शुक्रबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो। फरार रहेका अधिकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बालिका गर्भवती भएपछि यौनशोषण घटना बाहिर आएको हो । बालिकाको पेट बढेपछि परिवारका सदस्य र छिमेकीको सहयोगमा विहिबार जिल्ला अस्पताल धनकुटामा जाँच गराउँदा उनी ५ महिनाको गर्भवति भएको खुलेको छ ।
गरिब परिवारकी बालिकालाई पैसा, कपडा, खाजाको लोभ देखाएर यौनशोषण गरेको पाइएको प्रहरीले जनाएाके छ । बालिकामाथि यौन शोषणको आरोप लागेका चार जना नै ५० वर्षमाथिका हुन् ।
प्रहरीमा उजुरी गर्नुअघि पीडकहरुले उजुरी नगर्न र पैसा लिएर मिलापत्र गराउन दवाव दिँदै आएको खुलेको छ । उनीहरुले बालिकाको परिवारलाई १२ लाख रुपैयाँ दिएर मिलापत्रको प्रयास गरेका थिए ।