विराटनगर । कोरोना भाइरसका कारण नेपालभित्र कुनैपनि नागरिकको ज्यान जाने अवस्था आउन नदिने प्रतिबद्धता सरकारले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो प्रतिबद्धता जनाउनुभएको हो ।
कोरोनाबाट देशलाई मुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता भएको बताउँदै राष्ट्रपति भण्डारीले सरकारले कोरोना संक्रमणको परीक्षण ब्यापक बनाउने, औषधि उपकरण र चिकित्सक लगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था तथा परिचालनमा ध्यान दिएको दावी गर्नुभयो । यस्तै आन्तरिक आवागमन र आपूर्ति व्यवस्था सहज बनाउने, विकास निर्माणलाई तीब्रता दिने कार्यक्रम कार्यान्वयन गर्ने राष्ट्रपति भण्डारीले बताउनुभयो ।
कोरोना भाइरसको संक्रमणविरुद्ध एकढिक्का भएर लाग्न सबैलाई आग्रह गर्दै राष्ट्रपति भण्डारीले सरकारले चालेको कदममा साथ दिई सहयोग गरकोमा सबैलाई धन्यवाद दिनुभयो । देशमा समग्र सन्तुलित विकासका लागि सरकारले संचालन गरेका आयोजनाहरु तोकिएको समयमा सम्पन्न गर्ने, वित्तीय अनुशासन कायम गर्ने, उत्पादनशील क्षेत्रमा लगानी केन्द्रीत गर्ने, भ्रष्टाचार नियन्त्रण, सेवामा सुधार लगायत विषय नीति तथा कार्यक्रममा उल्लेख छन्।
महामारीका कारण रोजगारी गुमेकाहरुका लागि रोजगारी स्वास्थ शिक्षाका लागि सरकारले आवश्यक कदम अवलम्बन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । कोरोनाको महामरी लम्बिरहँदा कार्यक्रमहरुको प्राथिमिकीकरण गरिने राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जानकारी दिनुभयो ।
शिक्षा तथा स्वास्थ्यमा सरकारको भूमिकालाई थप प्रभावकारी बनाउँदै निजी क्षेत्रलाई प्रोत्साहित गर्ने सरकारको लक्ष्य छ । अन्तर्राष्ट्रिय श्रम बजार जोखिम भएपछि रोजगारीका अवसरलाई राष्ट्रिय अवसरका रुपमा प्रयोग गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारले २०९९ सालसम्म समुन्नत राष्ट्रमा उक्लिने लक्ष्य राखेको छ। २०८७ अगावै दिगो विकासका लक्ष्य हासिल गर्दै विकासशील राष्ट्र बन्ने र २०९९ सालसम्म समुन्नत राष्ट्रमा गनिनेगरी सामाजिक र आर्थिक कार्यक्रमहरु अगाडि बढाइएको राष्ट्रपति भण्डारीले बताउनुभयो ।
सरकारले कृषि उत्पादन १० वर्षमा दोब्बर पार्ने र यसका लागि पूर्वाधारमा लगानी बढाउने राष्ट्रपतिले जानकारी दिनुभयो । सरकारले २ वर्षको अवधिमा उत्साहजनक काम गरेको बताउँदै उहाँले विभिन्न सूचकाङ्कले सरकार सफल रुपमा अगाडि बढेको दावी गर्नुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक स्थायित्वले जनमतको सम्मान हुने उल्लेख गर्दै दलहरुलाई जनादेशअनुसार भूमिका खेल्न आग्रहसमेत गर्नुभयो ।