काठमाडौं । संघीय संसदका नौ जना सांसदहरुले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संघीय संसदको बैठकमा प्रवेश नपाउने भएका छन् ।प्रतिनिधिसभाका ७ र राष्ट्रियसभाका २ जना सांसदहरु बैठकमा प्रवेश गर्न नपाउने भएका हुन् ।
पीसीआर टेस्ट नगराएको कारण सांसदहरुले बैठकमा प्रवेश नपाउने संघीय संसद सचिबालयले जनाएको छ । प्रतिनिधिसभाका सांसदहरुमा किशोरसिंह राठौर, कुमारी थेबे, जयकुमार राई, नरमाया ढकाल, नागेन्द्र कुमार, रुबी नाज, सूर्यबहादुर केसीले संसद बैठकमा प्रवेश नपाउने भएका हुन् । यसैगरी राष्ट्रियसभाका नरपति सुनार र राधेश्याम पासवान पनि बैठकमा सहभागी हुन पाउने छैनन् ।
प्रतिनिधिसभाका विजयकुमार गच्छदार, मोहम्मद अफताव आलम, रेशमलाल चौधरी, हरिनारायण प्रसाद रौनियार गरी चार सांसद निलम्बनमा छन् । राष्ट्रियसभामा एक जना सांसद मनोनित हुन बाँकी छ । त्यसैले हाल कूल ३२९ जना सांसद छन् ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा ३२० जना सांसदहरु उपस्थित हुनेछन् । संघीय संसदमा प्रवेश पाउनको लागि अनिवार्यरुपमा कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रमाण पेश गर्नुपर्ने नियम रहेको छ ।
सकारको नीति तथा कार्यक्रममा सहभागी हुने राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र उनीहरुको सम्पर्कमा रहेकाहरुको पनि कोरोना परीक्षण गराइसकिएको छ । यसअघि संसद सचिवालयले संघीय संसद भवनभित्रै सांसदहरुको पीसीआर परीक्षण गर्न थ्रोट स्वाब नमूना संकलन गरेको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको छ ।