पाँचथरमा पनि नेपाली भूमि एसएसबीको कब्जामा

पाँचथर । पश्चिम नेपालको कालापानी क्षेत्रको नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गरेको भारतले पूर्वी नेपालको पाँचथरमा पनि नेपाली भूमि अतिक्रमण गरेको छ ।

पाँचथरको फालेलुङ गाउँपालिकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेपाली भूमिमा संरचना निर्माणमा रोक लगाएको छ । भारतले सो क्षेत्र क्षेत्र भारतमा पर्ने दाबीसहित नक्सा देखाएर जंगे पिलरभन्दा सय मिटर यता अतिक्रमण गरेको हो ।

एसएसबीले फालेलुङ ६ आहाले स्थित कबुलियती वनको आहाल भन्ने स्थानमा पर्यटन संग्रहालय बनाउन काम अघि बढाएकोमा एसएसबीले रोक लगाएको हो । वैशाख २४ बाट भवन निर्माण थालिएकोमा एसएसबीले सो स्थानलाई दशगजा भन्दै २७ गते काममा अवरोध पुर्‍याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङसहित स्थानीय जनप्रतिनिधि, सशस्त्र र नेपाल प्रहरीको टोलीले त्यस स्थानको अनुगमन गरी भारतीय सुरक्षाकर्मीसँग छलफलसमेत गरेको छ । तर, एसएसबीले नयाँ नक्साअनुसार एक सय मिटरसम्मको क्षेत्र भारतको रहेको भन्दै संरचना नबनाउन चेतावनी दिएको गाउँपालिका अध्यक्ष केरुङले बताउनुभयो ।

फालेलुङ गाउँपालिका–६ र इलामको सन्दकपुर गाउँपालिका–२ जोडिने सो क्षेत्रमा संग्रहालय बनाउन डिभिजन वन कार्यालय पाँचथरले १० लाख रुपैयाँ विनियोजन गरेको छ । संग्रहालय भवनको जग खन्दै गर्दा भारतीय सुरक्षाकर्मीले काम रोक्न दबाब दिएको समूहका अध्यक्ष नरबहादुर खपाङ्गीले जानकारी दिनुभयो ।

गाउँपालिकाका अनुसार यहाँ ५७।३ नम्बरको सानो तथा ५८।९ नम्बरको जंगे पिलर रहेको छ । नजिकैको ५७।४ नम्बरको सहायक पिल्लर गायब पारिएको स्थानीयले जनाएका छन् ।

फालेलुङ गाउँपालिकाका प्रवक्ता जीवनकुमार राईका अनुसार सो क्षेत्रमा एसएसबीले दैनिकरूपमा गस्ती गर्दै नेपालीलाई हिँडडुल र काम गर्नसमेत अवरोध गर्दै आएको जानकारी आएको बताउनुभयो । सो क्षेत्रमा दैनिक करिब १०० जनाको एसएसबीको टोली आउने गरेको बताइएको छ ।

सीमा क्षेत्रको नेपाली भूमिा रहेका दुई होटलका सञ्चालकलाइ भारतीय भूभागमा होटल बनाएको भन्दै एसएसबीले दबाब दिएको छ । भारतीय पक्षले नयाँ नक्सा नै निर्माण गरी सीमाभन्दा करिब १०० मिटरभन्दा बढी क्षेत्र अतिक्रमण गरेको पाइएको गाउँपालिकाका प्रवक्ता राईको भनाइ छ ।

भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरेपछि फालेलुङ गाउँपालिकाले यस विषयमा पहल गर्न जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएको छ । पत्र प्राप्त भएपछि सीमा मिचिएको तथा नेपाली भूभाग अतिक्रमण भएको विषय स्थलगत अवलोकन गर्न डिभिजन वन कार्यालयको टोली उक्त क्षेत्रमा पठाइएको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले जानकारी दिनुभयो ।

सीमास्तम्भसमेत जानाजान हराएको भन्ने सूचना आएपछि संवेदनशीलरूपमा लिइ मन्त्रालयमा जानकारी गराइएको शर्माले बताउनुभयो ।
पाँचथरमा भारतसँगको करिब ४५ किलोमिटर सीमा क्षेत्र रहेको छ ।

बिहिबार, ०१ जेठ, २०७७, दिउँसोको ०४:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर