अतिक्रमित क्षेत्र नजिक सुरक्षा पोष्ट स्थापना

काठमाडौं । दार्चुलाको कालापानी क्षेत्रको सीमा सुरक्षाका लागि सरकारले बुधबार सशस्त्र प्रहरी बलको पोष्ट स्थापना गरेको छ ।

नेपाली सेनाको हेलिकप्टरमा सशस्त्र प्रहरी लगेर दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरूमा सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको हो।

सो क्षेत्रमा भारतले नेपाली भूमि लिपुलेक हुँदै सडक बनाएर उद्घाटन गरेपछि सरकारले सीमा रक्षाको लागि सशस्त्रको पोष्ट स्थापना गरेको हो । पोष्टमा सशस्त्र प्रहरी निरीक्षक मिलीबहादुर चन्दको कमाण्डमा २५ जना सशस्त्र प्रहरी खटाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टका अनुसार सो क्षेत्रमा भाडाको घरमा अहिले पोष्ट स्थापना भएको भएपनि आफ्नै भवन निर्माणको काम पनि सुरु हुनेछ । सो क्षेत्रमा गत मंसिरमा नै सरकारले सुरक्षा पोष्ट स्थापना गर्ने निर्णय गरेको थियो । तर, निर्णय कार्यान्वयन भएको थिएन ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणबाबु थापा र गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई पोष्ट स्थापना गर्न पुगेका थिए । बीओपीका लागि चाहिने हातहतियार,बन्दोबस्तीको सामन र फौज लिएर नेपाली सेनाको एमआई १७ हेलिकप्टर खलंगाबाट छाङरु गएको थियो ।  सशस्त्रले आफ्नो काम सुरू भएसँगै अस्पतालसहितको भौतिक संरचना समेत बनाउने भएको छ ।

बुधबार नै खलंगाबाट नेपाल प्रहरीको ८ जनाको टोली पनि सितापुलमा चौकी स्थापना गर्न लगिएको छ । चिसोका कारण सितापुलमा रहेको प्रहरी टोली खलंगा झरेको थियो । अहिले स्थापना भएको सुरक्षा पोष्ट कालापानीबाट १२ किलोमिटर वर रहेको बताइएको छ ।

नेपाली भूमि अतिक्रमण गरी भारतद्वारा अनधिकृत रूपमा तिब्बतको मानसरोवर जाने सडक गत शुक्रबार रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेपछि नेपालमा चर्को विरोध भइरहेको छ । सीमा सुरक्षामा सचेत हुन आम नागरिकले सरकारलाई खबरदारी गरिरहेको बेला गृह मन्त्रालयले सुरक्षा पोष्ट स्थापना गरेको हो ।

तस्बिर सौजन्यः सशस्त्र प्रहरी

बुधबार, ३१ बैशाख, २०७७, रातीको ०८:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर