‘कठिन परिस्थितिमा सरकारले गरेका काम प्रशंसनीय’

काठमाडौं । सत्तारुढ दलका सांसदले कोभिड–१९ का कारण विश्वभर स्वास्थ्य सङ्कट चुलिँदै गएको अवस्थामा देशमा कोरोना भाइरस फैलन नदिन सरकारले प्रभावकारी काम गरिरहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता खिमलाल भट्टराईले कोभिड–१९ को प्रभावबाट जनतालाई जोगाउने सरकारको प्रयास सार्थक हुँदै गएको बताउनुभयो । सङ्क्रमितको उचित उपचारको व्यवस्था गर्नु, देशव्यापी लकडाउन गर्नु, निम्न वर्गलाई राहत प्याकेजको घोषणा र कार्यान्वयन गर्नु, स्वास्थ्य सामग्रीको व्यवस्था गर्नु, प्रदेशस्तरमा ल्याबको व्यवस्था गर्नु सरकारको सरकारात्मक काम भएको बताउनुभयो ।

लकडाउनकै बीचमा पनि राष्ट्रिय गौरवको आयोजना तथा विकास निर्माणलाई कुनै प्रभाव पर्न नदिने गरी सुरक्षात्मक उपाय अवलम्बन गरी काम अघि बढाउनु तथा घर जान चाहनेलाई सवारीको साधान व्यवस्थापन गरी पठाइनु राम्रो काम भएको बताउनुभयो । “कठिन परिस्थितिमा सरकारले गरेको काम प्रंशसनीय होइनन् र रु” उहाँले प्रश्न गर्दै भन्नुभयो । पूर्वाग्रहका आधारमा सरकारको आलोचना गर्ने गरिएको भन्दै उहाँले सकारात्मक सोच प्रदर्शन गर्न विपक्षीलाई आग्रह गर्नुभयो ।

उहाँले रोजगारीको सिलसिलामा भारतलगायत खाडी मुलुकमा रहेका नेपालीलाई स्वदेश फर्काउन उचित पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । “भोकै विदेशी सडकमा नेपाली रुँदै बसेको हाम्रो कानले सुन्न र आँखाले हेर्न सक्दैन”, उहाँले भन्नुभयो, “त्यसैले उहाँहरुलाई सहजै स्वदेश फर्काउन पहल गरौँ, स्थानीय तहलाई बजेटको विनियोजन गरेर पर्याप्त क्वारेन्टाइनको व्ययवस्था गर्नुपर्छ ।”

स्वास्थ्य परीक्षणको दायरालाई फाराकिलो बनाउँदै चुनौतीसँग लड्न सक्ने गरी पूर्वाधारको निर्माण गर्नुपर्नेमा जोड दिँदै उहाँले कोभिड–१९ नियन्त्रण गर्न सरकारलाई जनताको पूर्ण साथ र सहयोग रहेको बताउनुभयो । “भारतसँग कूटनीतिक तथा राजनीतिक पहल जारी राख्नुपर्छ । कालापानी र लिम्पियाधुरामा नेपाली सेनाको ब्यारेक राख्नुपर्छ । दार्चुलादेखि कालापानीसँग सडक निर्माण गरी दक्षिणतर्फको सीमामा पर्खाल लगाउनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले अहिले सरकारले आफ्ना कामलाई आक्रामक तवरले अगाडि लैजानुपर्नेमा जोड दिनुभयो ।

नेकपाकै भैरवसुन्दर श्रेष्ठले कोरोनाको सङ्क्रमणलाई फैलन नदिन सरकारले थप प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयो । विगतमा कोभिड–१९ को परीक्षण गर्न देश बाहिर जानुपर्ने अवस्थामा छोटो अवधिमा सरकारले मुलुकका विभिन्न १७ स्थानमा कोभिड–१९ को परीक्षण गर्न सक्ने व्यवस्था मिलाएर प्रशंसनीय काम गरेको बताउनुभयो । आगामी वर्षको बजेटमा प्रत्येक स्थानीय तहमा कम्तीमा १५ श्ययाको अस्पताल बनाउन बजेट विनियोजन गर्न उहाँले माग गर्नुभयो । विदेशबाट सीप र पूँजी बोकेर फर्केका युवालाई कृषि क्षेत्रमा लगाउन सरकारको ध्यानकर्षण गराउनुभयो ।

नेपालको भूमि फिर्ता पाउनका लागि सरकारले भरमग्दुर प्रयास गर्नुपर्ने बताउनुभयो । “आज सिङ्गो देश स्तब्ध छ, भारतीय प्रधानमन्त्रीले जहिले पनि राम्रा कुरा मात्र गर्नुभयो”, उहाँले भन्नुभयो, “भारतले कुरा एकातिर गरेर काम अर्कातिर गरेको छ, यसले नेपालीको स्वाभिमानमा चोट लागेको छ, हामीले जति खेद गरे पनि पुग्दैन ।” सुगौली सन्धिबाट नेपाल–भारत सीमा निर्दिष्ट भएको भन्दै उहाँले भारतले सुगौली सन्धि मान्दैन भने नेपालले पनि मान्न जरुरी नरहेको बताउनुभयो । प्रधानमन्त्रीको तहमा भारतसँग संवाद गर्न आग्रह गर्दै सांसद श्रेष्ठले भारतीय ज्यादतिका विरुद्धमा संयुक्त राष्ट्रसङ्घमा पनि कुरा उठाउन पछि पर्न नहुनेमा जोड दिनुभयो ।

सोही दलका मायाप्रसाद शर्माले कालापानी क्षेत्रमा सशस्त्र प्रहरीको व्यारेक राख्नु सकारात्मक भएको भन्दै उहाँले सीमा क्षेत्रलाई थप व्यवस्थति बनाउन सुझाव दिनुभयो । नेकपाकै शेरबहादुर कुँवरले भूगोलले कुनै मुलुक सानो ठूलो भए पनि सार्वभौकिमताको कुनै आकार नहुने बताउनुभयो । सीमा क्षेत्रमा अतिक्रमण गरेर भारतले असल छिमेकीको व्यवहार नदेखाएको भन्दै तत्काल भारतले हेपाहा प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभयो ।

नेकपाका ठगेन्द्रप्रकाश पुरीले दार्चुलाका नागरिकलाई सहजरूपमा आवातजावत गर्न नेपालतर्फ नै सडक निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । नेकपा रामनारायण बिडारीले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि आवश्यक स्वास्थ्य उपकरण तत्काल ल्याउन सरकारलाई सुभाव दिनुभयो । नेकपाका जीवन बुढाले सीमा अतिक्रिमण रोक्ने सन्दर्भमा प्राप्त तथ्य, प्रमाण जुटाउनका लागि संसदीय समिति गठन गर्न माग गर्नुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका रमेशजङ्ग रायमाझीले भारतबाट नेपाली भूमिमाथि आक्रमण गर्ने काम भइरहेको भन्दै तत्काल भारतीय हस्तक्षेप बन्द गर्न सरकारले पहल गर्नुपर्ने बताउनुभयो । छ महिनाअघि सर्वदलीय बैठकले भारतसँगको सीमा व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएको भए पनि हालसम्म कुनै प्रगति नहुनु र फेरि पनि सीमा मिचिनु दुःखद् भएको बताउनुभयो ।

“यो नेपालको लागि दुर्भाग्य हो, सारा संसार कोरोना भाइरससँग जुधिरहेको अवस्थामा भारतले नेपालको सीमा मिचेको छ”, उहाँले भन्नुभयो, “भारतले हाम्रो भूमि फिर्ता नगरे अन्तर्राष्ट्रिय अदालत पनि गुहार्नुपर्छ ।” सांसद रायमाझीले नेपाली भूमि गुमेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षीसँग तत्काल संवाद गर्नुपर्ने बताउनुभयो ।

जनता समाजवादी पार्टीका शेखरकुमार सिंहले कोरोना सङ्क्रमण रोक्न राज्यले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । वार्ताका माध्यमबाट सीमा विवादको निकास निकाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो । “तथ्य प्रमाणको आधारमा सीमा विवाद यथाशक्य अन्त्य गरिनुपर्छ”, उहाँले भन्नुभयो । जसपाका मृगेन्द्रकुमार सिंहले कालापानी क्षेत्रमा भारतले सडक निर्माण गर्न थालेको लामो समय भइसकेको भए पनि सरकारकाले आजसम्म किन थाहा पाएन भनेर प्रश्न गर्नुभयो ।

– रासस

बुधबार, ३१ बैशाख, २०७७, दिउँसोको ०३:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर