विराटनगर । नेपाल सरकारले सीमानामा रहेका नेपालीहरुलाई नेपाल प्रवेश गर्न रोक लगाइरहेको बेला विराटनगरको जोगवनी नाकाबाट भारतीय सुरक्षाकर्मीले १५ जना युवालाई नेपाल छिराईदिएका छन् ।

दिल्ली र विहारमा रहेर विभिन्न पेशा, व्यवसाय गर्दै आएका झापा, मोरङ र सुनसरीका युवाहरुलाई सोमबार राति भारतीय सुरक्षाकर्मीले सिमापार गराईदिएका हुन् ।

नेपाल प्रवेश गरका मोरङका २, झापाका ४ र सुनसरीका ९ जना युवालाई विराटनगर १६ हुलास मेटल चौकमा रोकेर राखिएको छ। नेपाल गरेका २० देखि ३० वर्ष उमेरका युवाहरु कसरी नेपाल प्रवेश गरे भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताउनुभयो ।

नेपाल प्रवेश गरेकाहरु सुनसरीको गढी गाँउपालिकाका ५ जना, इटहरीका २ जना, इनरुवा र धरानका १/१ जना, झापा शिवसताक्षीका २ जना, कन्काइका २ जना, मोरङ सुन्दरहरैंचा र पथरीशनिश्चरेका १/१ जना छन्।

भोकै रहेका युवाहरुलाई विराटनगर–१६ का वडा अध्यक्ष मनोज सुब्बाले खानाको व्यवस्था गरिदिनुभएको छ । युवालाई भारतीय सुरक्षाकर्मीले नै नेपाल छिराईदिएकोले उनीहरुको स्वास्थ्य परीक्षण गरी घर पठाउनुपर्ने देखिएको प्रहरीले जनाएको छ । भारतबाट आएकामा कोरोना संक्रमण देखिने भएकोले युवाहरु प्रवेश गर्दा त्रास बढेको छ ।

प्रहरीका अनुसार जोगवनी हुँदै नेपाल छिर्न खोज्ने ६० भन्दा बढी अहिले पनि भारतको जोगवनीस्थित क्वारेन्टाइनमा छन्। युवाहरुले भारत नफर्कने र नेपालमै क्वारेन्टाइनमा बस्ने बताएका छन् । आपूmहरु १५ दिनसम्म हिँडेर र कतै ढुवानीका साधनमा लिफ्ट मागेर भोकभोकै नेपाल आएको उनीहरुले बताएका छन् ।

कोरोना त्राससँगै समस्यामा परेका हजारौं नेपालीहरु भारतीय सुरक्षाकर्मीलाई छल्दै नेपालतर्फ हिँडेर आइरहेको युवाहरुले बताएका छन् ।