उमेशप्रसाद ओझा
करिब तीन चार महिनाअघिको कुरा हो म धरानबाट मारुती भेनमा आउँदै थिएँ । म अगाडिको सिटमा बसेको थिएँ । हामीभन्दा अगाडि मारुती भेन नै दैडिरहेको थियो । झट्ट हेर्दा अगाडि मारुती भेनको पछाडि पट्टि ‘किप डिस्टान्स’ लेखिएको रहेछ । मलाई त्यतिखेर मनमा खुल्दुली भयो कि त्यस्तो के लेखेको होला भनेर । पेशाले म इन्जिनियर भएकोले मैले बुझिहाले पछाडिको गाडिको सूरक्षाको लागि दूरी कायम गर्नू । आज ठिक चार महिनापछि कोरोना भाइरसको सन्त्रासले रोग संक्रमण हूने भयले सामाजिका दुरी कायम गर्नु । म अहिले पछाडि लेखिएको किप डिस्टान्स र सामाजिक दुरीको भिन्नताबारे घोत्लिएर छुट्याउन खोज्दैछु । गाडी घोडामा जस्तै मानव जातीमा पनि दूरी कायम गर्न नसक्दा जीवन र स्वास्थ्यमा दुर्घटनामा पर्दोरहेछ भनेर । हाम्रो परम्परा, रितिरिवाज रोकेको छ । पृथ्वी टक्क अड्किएको छ अनि स्तब्ध छ । आफ्नो जीवनको कालखण्डमा यति विचित्रको भोगाइले आफैंलाई मानव जातिको अस्तित्व माथिको खतरामा चिन्तित तुल्याएको छ नै सामाजिक, सास्कृतिक, राजनीतिक, आर्थिक परम्पराका परिवर्तनका राम्रा–नराम्रा दुवै संकेतहरु पनि छोडेको छ । समाजशास्त्री, राजनीतिज्ञ, अर्थबिद् र विभिन्न तह तप्काका भौतिक र सामाजिक वैज्ञानिकहरुलाई बाँकी बिश्वलाई नियालेर जिन्दगी रोकिनु, समाज रोकिनु, बदलिनु, सांस्कृतिक परम्परामा रोकिनु एउटा अचम्म लाग्दो कुरा भएको छ ।
कोरोनाको संक्रमण चीनको हुवान शहरबाट सुरु भई ससांरभर फैलियो । पश्चिमा देशहरु फ्रान्स, इटली, स्पेन, बेलायत, अरब देश, दक्षिण पूर्वी एसिया प्रायः देश अछुतो रहेन । अनि हामी हामा्रे देश र छिमेकी देश भारतको संक्रमण बृद्विको चरणमा छौं । कोरोनाको संक्रमणका कारण यसका वैज्ञानिक पक्ष सम्बन्धी थुप्रै लेख रचना पढ्न पाइन्छन् । यसको रोकथामको लागि खोपको विकास नै अन्तिम विकल्प होसमेत भनेर कति देशहरु यस खोपको बिकासमा लागि रहेका छन् । हतारमा विभिन्न औषधिको परीक्षण भइरहेका छन् । मलेरियाको औषधिसमेत प्रयोगमा आइरहेको छ ।
प्रभावकारी औषधी उपलब्ध नभएको र भ्याक्सिन पनि टाढा रहेको अवस्थामा रोग संक्रमण फैलन नदिन नेपाल पनि अरु बिकसिल देशलगायत छिमेकी देश भारतले गरेको जस्तै लकडाउन मोडल पछ्र्याई रहेको छ । धेरै बिकसित देशहरु तथा बिश्ब स्वास्थ्य संगठन (डब्लुएचओ) पनि लकडाउन मोडल उत्तम विकल्प हो भनेर औंल्याई रहेको छन् । रोगको संक्रमण फैलन नदिन यो एउटा मुख्य बिकल्प हो । तर सँगसँगै के यो लकडाउन मात्र समस्या समाधानको उपाय हो त ? भन्ने वहसहरु आइरहेको छन् । आर्थिक अवस्था कमजोर भएका विपन्न र दैनिक ज्यालादारी गर्नेहरुको लागी अहिलेको अवस्था कष्टकर हुन पुगेको छ । देश आर्थिक अवस्थामा नाजुक बन्दै गइरहेको छ ।
कतिपय विकसित देशले समेत लकडाउन मोडलको विकल्पको खोजी गरिरहेको पाइन्छ, अर्थतन्त्रहरु खोलिँदैछन् । एकातिर अमेरिका जस्तो विकसित देश रिओपन गर्न खोज्दैछ भने बेलायतले लकडाउन खोल्ने हिम्मत गर्न सकेको छैन । हाम्रो जस्तो देश जहाँ पद्धती छैन, उपचार व्यवस्था छैन, आइसियु भ्यान्टिलेटरहरु पर्याप्त छैन, मेडिकल सामाग्री पर्याप्त नहुने देशमा लकडाउन खोल्न र संक्रमण फैलाउन कम चुनौतिपूर्ण छैन । भनिन्छ, यो भाइरस मानव जाती भन्दा एक कदम अगाडि छ । तर लकडाउन मात्र समाधान हो त ? भन्ने धैरै जिज्ञासाहरु आइरहेका छन् । हाम्रो देशमा यो लकडाउन भएको करिब डेढ महिना बितिसकेको छ । नेता, नेतृत्व, राजनेता त्यस्ता हुन्छन् जसले जनताहरुलाई सुविधामा राख्छन् र जीवन जीउन सरल बनाउँछन् । यहाँ यसको ठिक उल्टो छ । संविधानले दिएको अधिकार बिपरित जनता घर फर्कन पाउँदैनन्, जीवन जिउन संघर्ष गरिहेका छन् । यसको अर्थ यो हो कि लकडाउन मात्र यसको समाधान होइन, आर्थिक र जिविकोपार्जनको प्रश्न पनि महत्वपूर्ण विषय हुन् । अहिले गरिएको बन्दाबन्दी (लकडाउन) फ्ल्याट एप्रोचमा हो यसका धेरै दिमाग लगाउनु पर्दैन । बस घोषण गरिदिए पुग्छ र कोही घरबाट बहिर ननिस्कन कडाई गरिदिए पुग्छ । अहिले देख्दा यो एक उत्तम उपाय हो जुन विकसित देशले पनि पछ्याई रहेका छन् । यो एउटा सरकारलाई कानमा तेल हाल्ने उपाय मात्र हो यदी त्यस भित्र उनीहरु अन्य समाजिक, वैज्ञानिक, आर्थिक उपायाहरु पत्ता लगाउँदैनन् भने । यहाँ महत्बपूर्ण कुरा के छ भने भाइरसको लामो असर हुने दखिन्छ । यसलाई कसरी जीवन चलाउने र संक्रमण पनि रोक्ने महत्वपूर्ण छन् । यस्तो परिस्थितिमा जसले यो कार्य बुद्धिमतापूर्वक, प्रतिभाशाली तरिकाले गरेर देखाउँछ उ हाम्रो देशको मात्र नभएर संसारका लागि एउटा अनुकरणीय बन्न सक्छ । यो एउटा चुनौति र अवसर दुबै हो । हाल विश्व स्वास्थ्य संगठनले संसारको रोग नियन्त्रणको वस्तुस्थितिको अनुगमन गरिरहेको छ । यस अवस्थामा हामीले आफ्नो मोडलको बिकास गरेर प्रयोग गर्न सक्यौ भने हामी सफल हुनेछौं । किन भने लकडाउन त एक दिन त खोल्नै पर्दछ त्यो चाहे जेठ, असार, साउन किन नहोस् । त्यसको लागि कुनै मोडल बनाउनै पर्दछ ।
२०७६ चैत्र ११ बाट सुरु भएको लकडाउनको चुचुरो बढ्दै छ । तर संक्रमितको संख्या न्यून छ के त्यो साँचो हो या परीक्षणको कमीले कम देखिएको हो । यदि हाम्रो देशमा संक्रमितको संख्या चुचुरोमा पुगेको हो भने कि त्यो झर्नु पर्यो वा त्यसलाई झार्नु पर्यो । फेरी बैज्ञानिकहरु दौस्रो र तेस्रो संक्रमणको तरंगहरू फर्कने त्राशमा छन् । यसो हेर्दा हाम्रो देशमा प्रारम्भ भएको लकडाउन उपर्युक्त समयमा भएको हो तर टेस्टिङ, ट्रयाकिङ, कन्ट्याक्ट ट्रयसिङ र आइसोलेसनको काम सुस्त भएकोले लकडाउन थप गर्नु परेको हो ।
बैशाख २५ गते सम्मको लकडाउन थप्नुभन्दा पहिला मैले सोचेको थिए केही नयाँ मोडलहरु आउँछन् होला तर त्यो भएन जे छ फ्ल्याट लकडाउन भयो । विभिन्न मोडलहरुको गृहकार्य अनिवार्य छ किन कि एकदिन त लकडाउन खोल्नैपर्छ चाहे त्यो ६ महिना पछि किन नहोस् त्यसले गर्दा यस्को आधारभूत अध्ययन र बृहत्तर समुच्च अध्ययनको जरुरी छ । आजकाल कोरोनाबाट सिकेका शब्द म भन्छु टेस्टिङ, टेस्टिङ, टेस्टिङ, आइसोलेसन लोनट्रेस्र्ट ट्रेसिङ, थ्रेटमेन्ट क्वारेन्टाइन यी महत्वपूर्ण छन् ।
बास्तवमा भन्ने हो भने कोभिड १९ को जुन टेस्ट हो त्यो स्ट्रेस टेस्ट हो । जहाँ ट्रेयासिङ नै जटिल छ । प्रजातन्त्र, समाज, सामाजिक आर्थिक राजनैतिक संरचना परिवर्तन गर्न सक्ने शक्ति यो तनावपूर्ण परीक्षणको रुपमा लिईन्छ ।
लकडाउन मोडलहरुलाई बिभन्नरुपमा वर्र्गीकरण गर्न सकिन्छ । हरेक प्रदेशले बेग्ला–वेग्लै मोडलको प्रयोग गर्न सक्छन् जुन एक अर्को प्रदेशको लागि अनकरणीय बन्न सक्छन् । केन्द्र र प्रदेशले मिलेर निम्न मोडल अपनाउन सक्छन् ।
संघीय सरकार र प्रदेश सरकारले कोभिड १९ को नियन्त्रणको लागि एक्स्पर्ट सर्कल बनाउनु पर्दछ । जसमा डाक्टर, जनस्वास्थ्यविद्, अर्थशास्त्री, राजनीतिज्ञ समाजशास्त्री, तथ्यांकशास्त्री, विश्वविद्यालयका प्राध्यापक, अध्ययन अनुसन्धान निकायका विज्ञहरुको समूहहरु हुन सक्छन् । विज्ञहरुले दैनिक रुपमा समीक्षा, अध्ययन अनुसन्धान गर्ने र यसको उच्चस्तरिय समितिलाई सुझाब दिनूपर्दछ र प्रदेशस्तरमा गठन भएको बिज्ञहरुको समूहले केन्दसँग दैनिकरुपमा भिडियो कन्फ्रेन्समार्फत निरन्तर सम्वाद गर्ने, समीक्षा गर्ने तथा मोडलको प्रभाबकारिता बारेमा विश्लेषण गर्नु पर्दछ । यसले गर्दा हरेक प्रदेश र विज्ञहरुको समूहलाई अध्ययन अनूसन्धानमा उत्तरदायि बनाउन सघाउ पूर्याउँछ । किन भने उनीहरुलाई आफ्नो मोडल कति प्रभाबकारी हुन्छ भनेर प्रयोग गरिरहेका हुन्छन् । हरेक प्रदेशमा प्रतिस्पर्धात्मक रुपमा विकास गरिने मोडलको प्रयोगले हरेक प्रदेशलाई रोग संक्रमण नियन्त्रणमा सक्षम बनाउनेछ । दक्ष जनशक्तिको विकास र उपयोगमा सहयोग गर्छ । विभिन्न चरणमा विकास गरिने यस किसिमका मोडलले देशको अर्थव्यवस्था चलायमान बनाउँदछ ।
दोस्रो मोडल हामी विस्तारै महत्वपूर्ण बजार खोल्ने औषधि पसल, खाद्यान्य पसल सामाजिक दुरी कायम गरेर खरिद बिक्रि, औद्योगिक, निर्माण परियोजनाको निश्चित सुरक्षात्मक उपाय अपनाएर काम गर्ने ब्यवस्था मिलाउनु पर्दछ ।
तेस्रो मोडेलमा ६ महिनापछि विस्तारै स्कुल, सिनेमाहल, रेस्टुरेन्ट आदि खोल्ने उदाहरणको लागि पाहाडको स्कूलमा चौरीमा पढाउने, कक्षा कोठा भित्र विभिन्न सिफ्ट गरेर छड्के बसाइ, मास्कको उचित प्रयोग गर्ने, कक्षा घण्टी छोट्याएर अध्ययन अध्यापन गराउने ।
बस, हवाई जहाजमा बस्दा छड्के बसाई, क्षमताभन्दा आधा सवार गर्ने कार्य गर्नु पर्दछ तथा साना सवारीमा एक वा दुई जना रहने गरी व्यवस्था मिलाउनु पर्दछ ।
अमेरिकाको न्यूयोर्कको गभर्नर एन्ड्रव कुवमोले भने जस्तै लकडाउन खोल्दा एउटा गेट भ्यालु खोले जस्तै हो । लकडाउन ओपनिङ भ्यालु खोल्दा चारवटा डायल जउज रिडिङ अध्ययन गर्ने, विरामी कति अस्पतालमा भर्ना भए, कति परीक्षण भए, कति निर्णायक परीक्षण भए र संक्रमित संख्या कति भए यिनीहरुको रिडिङ पश्चात रिओपनिङ भ्यालु कति खोल्ने र बन्द गर्ने निर्धारण गर्छ । अमेरिकामा हरेक दिनको ब्रिफिङमा यति वैज्ञानिक र सूचनामूलक छ कि गर्भरनर आफै ब्रिफिङ गर्छन् ताकी राष्ट्रपति आफै जागरुक भएर विशेषज्ञ अघिपछि लगाएर संक्रमण नियन्त्रणमा दिलोज्यान दिएको त हामीले मिडियामा देखेकै छौ ।
यस माहामारीले हामीलाई संक्रमण तुल्याएको छ । भ्याक्सिन नबनुन्जेल ढुक्क हुने स्थिति पनि छैन । तथापि हाम्रो सुरक्षित जीवनचक्र चलाउनु छ यसको लागि हामी प्रयत्नशिल हुनुपर्छ उपायहरु खोज्नुपर्दछ र अब आइन्दा हाम्रा हरेक प्रदेशमा अनुसन्धान प्रतिष्ठानहरु खोल्नुपर्छ । संक्रमणको अवस्था र हाम्रो कार्यपद्धति हेर्दा र विशाल जनसंख्या भएको भारतको अवस्था हेर्दा हाम्रो संक्रमणको पिक कहिले पुग्ने एकिन छैन हामी यतिकैमा साना साना तथ्यांकमा भरपर्ने अवस्था पनि छैन त्यसैले लामो समयको लकडाउन कर्भ जाने संक्रमण नरोकिनुले हामी कतै अर्को गरिबीको महामारीमा त फस्दै छैनौं विचारणीय छ ।
म के भन्न चाहन्छु भने यो महामारी नियन्त्रण हामीले खेल्ने खेल बाकचाल र बुद्धिचाल जस्तै हो जस्ले हामीलाई जितेर सुरक्षित अवतरण गराउँछु । हाम्रो जस्तो देशमा वा क्षेत्र छुट्याउने रेड जोन, एल्लो जोन र ग्रिन जोनको कुरा पनि भइरहेको छ । यस्तो माहामारीमा हामी हाम्रो क्षेत्रमा क्षेत्र र देशको सिमाना जस्तो गरी हामी यस्लाई वर्गीकरण गर्न सक्दैनौं । रोग संक्रमणले सिमा बन्धन संस्कृति परम्परा भन्दैन । हाम्रा सबै जोन एउटै हुन् एउटा क्षेत्रको सरक्षा सम्पूर्ण क्षेत्रलाई काम गर्छ ।
घुलमिल संस्कृति परम्परा भएको देशमा सिमा र बन्धनले वाँध्दैन तथापि उच्च जोखिम, मध्यम जोखिम, कम जोखिमको म्यापिङ गर्न सकिन्छ जसमा अर्को प्रदेशको सिमा भूगोल पनि हुन सक्छ यो छुत अछुतको सिमा र भावना पनि होइन जस्लाई लक्ष्मण रेखाले निर्धारण गरोस् । तर एउटा कुरा महत्वपूर्ण हुन सक्छ अन्तराष्ट्रिय सिमामा निगरानी, सिमाना बन्द आवात–जावतमा बन्देज यी अत्यन्तै सम्बेदनशील कुरा पनि हुन् ।
हामीहरुले आधुनिक प्रविधिको प्रयोगले सिमा बन्धनमा नवाँधिई जोखिमयुक्त क्षेत्रलार्ई इन्ट्रेस्टेड क्रस बाउन्ड्री होस् त्यसलाई लक गर्न टेस्टिङ, ट्रयासिङ, थ्रेटमेन्ट गर्नुपर्छ । धेरै उपायहरु र मोडलहरु जनउपयोगी हुनु पर्छ । केही मोडल कालान्तरमा फेल पनि हुन सक्छन् आत्तिनु हुँदैन अर्को उत्कृष्ट मोडल बनाउनुपर्छ तर ढिलो होइन विशेषज्ञ विशेषज्ञताको उपयोग गर्न सिक्नु पर्छ । यस्तो अवस्थामा हाम्रो प्रत्येक अंग औजार चलायामान हुनु पर्दछ । जसरी विकसित देशका राष्ट्रध्यक्षहरुले अघिपछि वैज्ञानिक लिएर दौडिरहन्छन् र अहोरात्र गृहकार्य गर्छन् त्यहि प्रचलन हामीमा पनि चलाउनु सक्नुपर्छ ।
हामीले कोरोनासँग जुध्नैपर्छ किनभने यसको संक्रमण लामो हुने लक्षण देखिएको छ । हामी यसमा सुरक्षित रुपमा अभयस्त भएर सरकारले दिएका गाइडलाइन्स पालना गरेर समाजिक दुरी, मास्कको प्रयोग तथा भीडभाड भोजभतेर नजाने कडाइका साथ पालना गर्नु पर्छ । हाम्रो रोग प्रतिरोधात्मक क्षमता बृद्धि हुने प्रकृतिका खाने कुरा खाने, नियमित योग अभ्यास ब्यायाम गर्ने नियमित रुपमा पालना गरियो भने कोरोनासँग लामो लडाईसँग अभ्यस्त हुनेछांै । यो तितो सत्य हो यो भाईरस हाम्रो जीवनको लागि खतरनाक छ र हामी भन्दा एक कदम अगाडि पनि छ र भ्याक्सिन नबनुन्जेलसम्म हामी आफै सुरक्षित रहनु जरुरी छ । यो पनि महत्वपूर्ण कुरा छ कि हाम्रो जस्तो गरिब मूलुकका लागि भ्याक्सिन एउटा टाढा को कुरा पनि हुन सक्छ । अनि हामीले यसका लागि विगतमा भएका सामाजिक व्यवहार ंसंस्कृतिलाई नयाँ स्वरुप, ढाँचामा बदल्न हिम्मत र साहस गर्नु पनि पर्छ, पृथ्वीको श्रृष्टि पश्चात विगतमा कति परिवर्तन भएका थिए होलान् तर हाम्रो जीवन कालमा यो ठूलै परिवर्तनको संकेत होे । त्यसैले यो समस्यालाई हामी बिश्व मानबजातीले एउटा ऐतिहासिक अबसरको रुपमा सकरात्मक भई लड्नुको बिकल्प नरहेको यसै सन्दर्भमा एउटा हिन्दीमा किस्सा छ ‘डर के आगे जित हे’ ।
लेखकः विराटनगर–१२, भ्यू कोलोनी निबासी बरिष्ठ ईन्जिनियर हुन् ।
समय सान्दर्भिक लेख रहेकोे छ । राम्रो लाग्यो , यसैगरी समय सान्दर्भिक लेखहरु प्रकाशित भैइरहोस ।
मलाई राम्रो लाग्यो।