काठमाडौं । गृह मन्त्रालयले सिमा नाकामा थप कडाई गर्दै सशस्त्र प्रहरीको सुरक्षा पोष्ट (बिओपी)को संख्या पाँच सय पुर्याउने भएको छ ।
गृहमन्त्री रामबहादुर थापा बादलले दिएको निर्देशन अनुरुप सशस्त्र प्रहरी बलले पाँच सय सुरक्षा पोष्ट बनाउने सम्बन्धि खाका तयार सोमबार गृह मन्त्रालयमा पेश गरेको छ ।
हाल सिमामा १२१ बिओपी रहेकोमा त्यसलाई बढाएर ५ सय पुर्याउने सरकारको तयारी रहेको छ । नेपालतर्फको सिमानाकामा भारतको ५३० बिओपी रहेकोमा नेपालले पनि सोहि अनुपातमा बिओपी थप्ने तयारी गरेको हो ।
प्रस्ताव अनुसार सो संख्यामा जनशक्ति खटाउन ९ हजार जनशक्ति थप गर्नुपर्ने प्रस्ताव पनि सशस्त्र प्रहरीले जनाएको छ । हाल सरदर १५ किलोमिटरको दुरिमा रहेको बिओेपी त्यसपछि ३.५ किलोमिटर सिमामा रहनेछ ।
बिओपी थप सम्बन्धि गृहमन्त्रालयको छलफलमा गृहमन्त्री थापाले सिमा व्यवस्थापनको विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै बिओेपी थप सम्बन्धि प्रस्ताव आफुले मन्त्रीपरिषदमा लैजाने बताएको उहाँका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिनुभयो । सशस्त्र प्रहरीले तयार पारेको प्रस्ताव राम्रो रहेको भन्दै गृहमन्त्रीले बिओेपी रहने स्थान, आवश्यक पुर्वाधार लगायतका विषयमा थप विस्तृत प्रस्ताव ल्याउन सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई निर्देशन दिनुभएको छ ।
तत्कालै पाँच सय स्थानमै बिओेपी स्थापना प्रक्रिया अगाडि बढाईने गृहमन्त्री थापाले बताउनुभएको छ । उहाँले अहिले जटिल परिस्थितिमा सिमित , स्रोत र साधनका बाबजुद सिमामा कोरोना नियन्त्रणका लागि सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय रहेको टिप्पणी गर्नुभयो ।
गृहसचिव महेश्वर न्यौपानेले सिमाको विषय संवेदनशील विषय भएकोले सिमाबाट हुने अपराध, चोरी, तस्करी नियन्त्रणका लागि समेत बिओेपी बढाउनुको विकल्प नरहेको बताउनुभयो । उहाँले भन्सारको १११ ठाउँमा रहेको जग्गा बिओपीलाई दिन अर्थ मन्त्रालय सकारात्मक देखिएको जानकारी दिँदै अन्य स्थानमा प्रदेश सरकार, स्थानीय निकाय र जिल्ला प्रशासनसँगको समन्वयमा आवश्यक जग्गा खोज्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभयो ।
यसअघि सिमाक्षेत्रमा ८७ बिओपी रहेकोमा गृह मन्त्रालय थापाले सम्हालेपछि यसमा १२० पुर्याइएको छ । त्यस्तै बिओपी संख्या २२१ पुरयाउने गृहमन्त्रीको प्रस्ताव मन्त्रीपरिषद्ले यसअघि नै पारित गरिसकेको छ ।
यसअघि बिओपीमा करिव ५ हजार जनशक्ति रहेकोमा कोरोनाको संक्रमणका कारण सिमा सिलपछि ८ हजार ३८३ थप जनशक्ति सिमामा थपिएको छ। गृहमन्त्री थापाले पहाडी र हिमाली जिल्ला, हेडक्वार्टर लगायतका स्थानमा रहेका जनशक्ति घटाएर सिमामा पठाउन निर्देशन दिनुभएको थियो ।
सशस्त्रको १२१ स्थानमा मात्रै बिओेपी रहेपनि कोरोनाको संक्रमणका कारण सिमा सिलपछि त्यसलाई बिस्तार गरि १२ सय स्थानमा अस्थायी र स्थायी पोस्ट बिस्तार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।