काठमाडौं । सरकारले कारागार, विकास आयोजनासहितमहत्त्वपूर्ण संरचनाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर सीमा क्षेत्रमा थप प्रहरी परिचालन गर्ने भएको छ ।
भवन तथा प्रतिष्ठानको सुरक्षामा तैनाथ दुवै प्रहरी जनशक्तिलाई नेपाल–भारत सीमा क्षेत्रमा खटाएर सेनालाई ती संरचनाको सुरक्षामा खटाइने भएको हो ।
निर्वाचनको समयमा यस्ता संरचनाको सुरक्षामा खटिएका प्रहरी र सशस्त्रलाई झिकेर अस्थायी रुपमा सेनालाई खटाइने गरिएको थियो । आइतबार गृहमन्त्री रामबहादुर थापा बादलको उपस्थितिमा गृह मन्त्रालयमा बसेको बैठकले कोरोनाको संक्रमण रोक्न सीमामा थप कडाई गर्ने निर्णय गरेको हो ।
सीमा क्षेत्रबाट लुकीछिपी प्रवेश गर्ने क्रम नरोकिएकोले सीमा नाकामा थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको गृहमन्त्री थापाले बताउनुभएको छ । बैठकले भारतमा रहेका नेपालीलाई कोरोनाबाट सुरक्षित राख्न आवश्यक पहल तथा सीमा सुरक्षाका विषयमा भारत सरकारसँग छलफल गर्ने निर्णयसमेत गरेको छ ।
सीमामा थप कडाइ गर्न र रातको समयमा थप गस्ती बढाउन सुरक्षा निकायलाई गृहमन्त्री थापाले निर्देशनसमेत दिनुभएको। कति जनशक्ति सीमा पठाउने भन्नेबारे २ दिनभित्र नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुले गृहमा विवरण पठाउनेछन् ।
गृहमन्त्री बादलले सिमामा खटिएका सुरक्षाकर्मीका लागि आवश्यक स्रोत साधनको व्यवस्थापन गरिने बताउनुभएको छ । गृहको यो निर्णयसँगै देशभरका कारागार, विभिन्न राजदूतावास, नेपालस्ठित अन्य कूटनीतिक नियोग, विशिष्ट व्यक्तिहरु बस्ने निवास तथा कार्यालयलगायत संरचनाको सुरक्षामा अर्को व्यवस्था नभएसम्मका लागि नेपाली सेनाको जनशक्ति खटाइनेछ ।
लकडाउन घोषणापछि सशस्त्र प्रहरीले भारतीय सीमातर्फ १२ सय १३ वटा अस्थायी चेक प्वाइन्ट खडा गरेर करिब २२ हजार जनशक्ति परिचालन गरेको छ । यस्तै सीमामा नेपाल प्रहरीका ४ सय ५० वटा सीमा चौकी र अन्य अस्थायी संरचना गरी ७ हजारभन्दा बढी जनशक्ति खटिएका छन् ।
बैठकमा गृहसचिव, परराष्ट्र सचिव, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका रथि प्रभुराम शर्मालगायतको उपस्थिति रहेको थियो।