काठमाडौं । सरकारले कारागार, विकास आयोजनासहितमहत्त्वपूर्ण संरचनाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर सीमा क्षेत्रमा थप प्रहरी परिचालन गर्ने भएको छ ।
भवन तथा प्रतिष्ठानको सुरक्षामा तैनाथ दुवै प्रहरी जनशक्तिलाई नेपाल–भारत सीमा क्षेत्रमा खटाएर सेनालाई ती संरचनाको सुरक्षामा खटाइने भएको हो ।
निर्वाचनको समयमा यस्ता संरचनाको सुरक्षामा खटिएका प्रहरी र सशस्त्रलाई झिकेर अस्थायी रुपमा सेनालाई खटाइने गरिएको थियो । आइतबार गृहमन्त्री रामबहादुर थापा बादलको उपस्थितिमा गृह मन्त्रालयमा बसेको बैठकले कोरोनाको संक्रमण रोक्न सीमामा थप कडाई गर्ने निर्णय गरेको हो ।
सीमा क्षेत्रबाट लुकीछिपी प्रवेश गर्ने क्रम नरोकिएकोले सीमा नाकामा थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको गृहमन्त्री थापाले बताउनुभएको छ । बैठकले भारतमा रहेका नेपालीलाई कोरोनाबाट सुरक्षित राख्न आवश्यक पहल तथा सीमा सुरक्षाका विषयमा भारत सरकारसँग छलफल गर्ने निर्णयसमेत गरेको छ ।
सीमामा थप कडाइ गर्न र रातको समयमा थप गस्ती बढाउन सुरक्षा निकायलाई गृहमन्त्री थापाले निर्देशनसमेत दिनुभएको। कति जनशक्ति सीमा पठाउने भन्नेबारे २ दिनभित्र नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुले गृहमा विवरण पठाउनेछन् ।
गृहमन्त्री बादलले सिमामा खटिएका सुरक्षाकर्मीका लागि आवश्यक स्रोत साधनको व्यवस्थापन गरिने बताउनुभएको छ । गृहको यो निर्णयसँगै देशभरका कारागार, विभिन्न राजदूतावास, नेपालस्ठित अन्य कूटनीतिक नियोग, विशिष्ट व्यक्तिहरु बस्ने निवास तथा कार्यालयलगायत संरचनाको सुरक्षामा अर्को व्यवस्था नभएसम्मका लागि नेपाली सेनाको जनशक्ति खटाइनेछ ।
लकडाउन घोषणापछि सशस्त्र प्रहरीले भारतीय सीमातर्फ १२ सय १३ वटा अस्थायी चेक प्वाइन्ट खडा गरेर करिब २२ हजार जनशक्ति परिचालन गरेको छ । यस्तै सीमामा नेपाल प्रहरीका ४ सय ५० वटा सीमा चौकी र अन्य अस्थायी संरचना गरी ७ हजारभन्दा बढी जनशक्ति खटिएका छन् ।
बैठकमा गृहसचिव, परराष्ट्र सचिव, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका रथि प्रभुराम शर्मालगायतको उपस्थिति रहेको थियो।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।