कुन प्रदेशमा कति संक्रमित ? प्रदेश १ पछि प्रदेश ५ कोरोनाको हटस्पट

कर्णाली प्रदेश अहिलेसम्म कोरोनामुक्त

विराटनगर । नेपालमा दोस्रो व्यक्तिमा कोरोना संक्रमण देखिएपछि चैत ११ गतेबाट सरकारले लकडाउन घोषणा गरेकोमा कोरोना संक्रमणको फैलावट रोकिएको छ ।

अहिलेसम्म संक्रमण पुष्टि भएका ७५ जनामा प्रदेश १ मा सबैभन्दा बढि ३१ जना छन् । तीमध्ये एउटै जिल्ला उदयपुरमा २८ जना संक्रमित भेटिएका छन् । अहिलेसम्म प्रदेश १ को झापामा २ र भोजपुरमा १ संक्रमित पुष्टि भएको छ ।

प्रदेश नं. १ लाई कोरोनाको हटस्पट मानिएकोमा एक महिना बित्दासम्म कुनै संक्रमित नदेखिएको प्रदेश नं. ५ मा अहिले ठूलो संख्यामा संक्रमित फेला परेका छन् । वैशाख १९ गते प्रदेश ५ को बाँके र रुपन्देहीका एक÷एक जनामा कोरोना देखिएकोमा आइतबार एकैदिन बाँकेमा १५ जना संक्रमित थपिएका छन् ।

बाँकेको नेपालगञ्जमा एउटै गाउँमा १५ जना संक्रमित भेटिएका छन् भने यो संख्या अझै बढ्ने संभावना रहेको बताइएो छ । योसँगै प्रदेश ५ मा संक्रमितको संख्या १७ पुगेको छ ।

नेपालगञ्जको मदरसा पढाउने ६० वर्षीय शिक्षकलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि उनको कन्ट्याक्टमा आएकाहरुको परीक्षण गर्दा १५ जना थप संक्रमित भेटिएको हो । ६० जनाको परीक्षण गर्दा १५ संक्रमित पाइएको छ भने थप ३३ जनाको परीक्षण रिपोर्ट आइनसकेको ५ नंं. प्रदेश सरकारले जनाएको छ ।

प्रदेश १ र ५ पछि प्रदेश नं. २ मा १३ जना संक्रमित भेटिएका छन् । प्रदेश २ का पर्सामा ७ जना, बारामा २ जना, रौतहटमा ३ जना र सर्लाहीमा १ जना गरी १३ जना संक्रमित छन् ।

सबैभन्दा पहिले वाग्मती प्रदेशमा कोरोना संक्रमण देखिएको थियो भने त्यसपछि क्रमशः गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, २ नम्बर प्रदेश र १ नम्बर प्रदेश र ५ नम्बर प्रदेशमा संक्रमण देखिएको छ । कर्णाली प्रदेशमा भने अहिलेसम्म संक्रमण देखिएको छैन ।

प्रदेश ३ को काठमाडौंमा ५ र चितवनमा २ गरी ७ जनामा संक्रमण देखिएको छ। काठमाडौंमा सबैजना उपचारपछि डिस्चार्ज भइसकेका छन्।

गण्डकी प्रदेशमा २ जना संक्रमित देखिएका हुन्। उनीहरु दुबै वाग्लुङका हुन् । उनीहरु पनि उपचारबाट ठीक भएर फर्किसकेका छन्।

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १ र कैलालीमा ४ जना संक्रमित गरी ५ जनामा संक्रमण देखिएको छ। उनीहरुमध्ये ४ जना उपचारपछि घर फर्किएका छन् ।

कूल ७५ जना संक्रमित पुष्टि हुँदा १६ जना उपचारपछि ठीक भएर घर फर्किसकेका छन्। संक्रमित सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सोमबार, २२ बैशाख, २०७७, बिहानको ०९:५० बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर