काठमाडौं । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि ९ जनामा कोरोना देखिएको पुष्टि गरेकोमा भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण हुनेहरु १६, २१ र ३४ वर्षका पुरुष तथा ४०, ५५ र ६० वर्षका महिला छन् ।नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा नेपालगञ्ज उपमहानगरपालिका ८ का ६ जनामा संक्रमण देखिएको प्रदेश ५ सरकारले जनाएको छ ।
केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार संक्रमण देखिएका सबै १५ जना एउटै टोलका हुन् । आइतबार थप ६० जनाको स्वाब संकलन गरिएको छ ।
आइतबार नै बीरगञ्जमा पनि थप एक जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । जसमध्ये १६ जना उपचारपछि निको भइसकेका छन् ।