विराटनगर। उदयपुर घर भएकै कारण विरामीको उपचार गर्न नमान्ने विराटनगरको नोबेल अस्पताललाई कारबाही गर्न उदयपुरका जनप्रतितिनिधिले माग गरेका छन् ।
आइतबार बिहान गाईघाटमा पत्रकार सम्मेलन गर्दै प्रदेशसभा सदस्यहरु विमल कार्की र नारायण बुर्जा मगर तथा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले नोबेलमाथि कार्वाहीको माग गर्नुभएको हो ।
उदयपुरको त्रियुगा ११ की २९ वर्षिया सरस्वती रौनियार प्रसुति गराउन नोबेलमा भर्ना भएकोमा उदयपुर घर भएकै कारण अपरेशन थिएटरबाट निकालेको घटनाको छानबिन गरी कारबाही गर्न माग गरिएको हो । नगर प्रमुख चौधरीले जुनसुकै किसिमको अवस्थामा पनि स्वास्थ्य सेवा प्राप्त गर्नु नागरिकको नैसर्गिक र संविधान प्रदत्त अधिकार भएको भन्दै नोबेलले उदयपुरबासी विरुद्ध घृणा फैलाएकोले कार्वाही हुनुपर्ने बताउनुभयो ।
उदयपुरबासी भएकै कारणले जुन घृणा नोबेल अस्पतालका सञ्चालक, स्वास्थ्यकर्मी र कर्मचारीहरूले फैलाउने दुष्प्रयास गरेका छन् त्यो आपराधिक काम भएको चौधरीको भनाइ छ । उहाँले नोबेलको विज्ञापन हुने प्रवर्द्धनात्मक कार्यक्रमहरू एक वर्षका लागि निषेध गर्नुका साथै विपद्को बेला उपचार गर्न नमान्ने अस्पतालमा बिरामी नलैजान सबैमा अपिल गर्नुभएको छ ।
प्रदेशसभाका सदस्य विमल कार्कीले कुनैपनि अस्पतालले कुनैपनि विरामीलाई बहानाबाजी गरेर उपचारबाट बञ्चित गर्न नपाउने बताउनुभयो । उपचार गर्न नसक्ने उचित कारण भएमा मात्र अन्यत्र रेफर गर्नुपर्नेमा उदयपुर घर भएकै कारण विरामीको उपचार नगर्नु अपराध र नागरिकको स्वास्थ्य उपचार पाउने संवैधानिक अधिकार उल्लंघन गरेको उहाँको भनाइ छ । राज्यको अनुदानमा मातृशिशु कार्यक्रम चलाएको नोबेलले गरेको हर्कत मध्ययुगिन बर्बरता भएको उहाँको भनाई छ ।
प्रदेशसभाका अर्का सदस्य नारायण बुर्जा मगरले प्रसुति गराउनुपर्ने जस्तो गम्भीर केशलाई उदयपुर घर भएकै कारण रेफर गर्नु गम्भीर घटना भन्दै कार्वाही गर्न प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नोबेलमा भर्ना गरिएकी रौनियारको प्रसूतिको लागि आवश्यक सबै प्रक्रिया पुरा गरेपछि अप्रेसन थिएटरमा लगिएकोमा चिकित्सकले बिरामीको ठेगाना उदयपुर देखेपछि शल्यक्रिया कक्षबाटै बुधवार बिहान बाहिर निकालिएको थियो । यस्तै हात भाँचिएर अप्रेशनका लागि भर्ना भएका उदयपुरका भीमबहादुर खत्रीलाई पनि शुक्रबार नोबेललले अप्रेशन थिएटरबाटै निकालेको थियो।
नोबेलले यसअघि मोरङको पथरीकी एक बृद्धालाई खोकेको भन्दै अपरेशन थिएटरबाट निकालेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो ।
प्रसुती गर्नुपर्ने महिलालाई अस्पतालबाट निकालेको बारेमा अनुसन्धान गरी कार्वाही गर्ने स्वास्थ्य मन्त्रालयले बताएको छ । तर, नोबेलले एकपछि अर्को बद्मासी गर्दै गएको बेला कार्वाहीको चेतावनी दिने प्रदेश सरकार भने मौन रहेको छ ।
गएको बिहीबार विराटनगरका अस्पतालले भर्ना लिन नमानेकै कारण समयमा उपचार नपाएर सुनसरीको देवानगञ्ज १ का २७ वर्षीय रविन्द्र यादवको मृत्यु भएको थियो ।