निर्णय नगरी अर्थमन्त्रीलाई राहत

विराटनगर । अध्यादेश प्रकरणपछि सत्तारुढ नेकपामा चर्किएको विवाद शनिबारको सचिबालय बैठकपछि मत्थर हुँदा अर्थमन्त्री डा.युवराज खतिवडाको बारेमा कुनै निर्णय नभएपनि उनलाई सबैभन्दा राहत भएको छ ।

नेकपाको सचिबालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेसँगै गैरसांसदको रुपमा मन्त्री नियुक्त खतिवडालाई राष्ट्रियसभामा जाने बाटो खुलेको छ ।

राष्ट्रपतिबाट मनोनित कोटामा अर्थमन्त्री भएका खतिवडाको गत फागुनमा कार्यकाल सकिएपछि नेकपा सचिबालयले उनको स्थापनमा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो । आफूले खतिवडालाई नै लैजान चाहेपनि सचिबालयको बहुमतले गौतमको पक्षमा निर्णय गरेपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले त्यो निर्णय कार्यान्वयन नगरी सांसद नभएको व्यक्ति पनि ६ मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार खतिवडालाई अर्थमन्त्रीमा पुनःनियुक्ति गर्नुभएको थियो ।

ओलीले सचिवालयको निर्णय कार्यान्वयन गर्न अटेर गर्दै आएकोमा शनिबारको बैठकले उक्त निर्णय नै खारेज गरेपछि ओली र खतिवडालाई हाइसञ्चो भएको छ । अब खतिवडालाई मन्त्रिपरिषदबाट निर्णय गरेर मनोनित कोटामा राष्ट्रियसभामा दोहोरिने बाटो खुलेको छ ।

प्रधानमन्त्री बन्न नपाउने भएको कारण राष्ट्रियसभामा नजाने गौतमले बताएपछि उनलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय नेकपाले गरेको छ । तर, त्यो उपयुक्त समय कहिले हो भन्ने स्पष्ट नभएको बेला खतिवडालाई भने राहत भएको छ । खतिवडा राष्ट्रियसभामा नियुक्त भएमा अर्थमन्त्रीमा उनले निरन्तरता पाउनेछन्, अन्यथा भदौ महिनाम उनी विदा हुनेछन् ।

नेताहरुले राष्ट्रियसभामा गौतम नजाने भएपछि सो स्थानमा लैजाने पात्रबारे अर्को बैठकमा छलफल हुने बताएका छन् ।

आइतबार, २१ बैशाख, २०७७, बिहानको ०९:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर