विराटनगर । नेकपा सचिबालयको शनिबारको बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयम प्रतिनिधिसभामा लैजाने निर्णय गरेपछि पाल्पा क्षेत्र नं. १ उनको लागि खाली गरिने चर्चा चलेको छ । वामदेव निकट मानिएका दलबहादुर राना निर्वाचित भएको सो क्षेत्रमा गौतमलाई लैजान महासचिब विष्णु पौडेलले पहल गरेको समाचार सार्वजनिक भएको छ ।
पाल्पा १ बाट रानालाई राजिनामा गराएर वामदेवलाई प्रतिनिधिसभामा लैजाने चर्चा चलेको बेला रानाले भने त्यसलाई अस्वीकार गर्नुभएको छ । आफ्नो क्षेत्रबाट बामदेव गौतमलाई उम्मेदवार बनाउने भन्ने कुरा झुठो र भ्रामक भएको उहाँले सामाजिक सञ्जालमार्फत बताउनुभएको हो ।
सांसद रानाले पाल्पा १ बाट वामदेवलाई प्रतिनिधिसभामा लैजाने कुरा झूठो, भ्रमपूर्ण र पार्टीको एकता बिरोधी षड्यन्त्रबाट प्रेरित भएको उल्लेख गर्नुभएको छ । ‘केही समयदेखि पार्टीभित्र देखापरेको आन्तरिक विवादलाई सचिवालयको बैठकमा नेताहरुले आत्मालोचना गर्ने, २५ गते स्थायी समितिको बैठक बस्ने, तीनजना अध्यक्ष राख्ने विषय अघि नबढाउने र कमरेड बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाएर प्रतिनिधि सभामा लैजान पहल गर्ने जस्ता महत्वपूर्ण निर्णयहरु गरेर समाधान निकाल्न सफल भएको कुरा पार्टी प्रवक्ता कमरेडबाट जानकारी पाउँदा सम्पूर्ण नेता कार्यकर्ता, मतदाता र शुभचिन्तकहरु अत्यन्त खुसी भएका छौं । तर, बैठकमा र सम्बन्धित कसैसँग पनि छलफल र चर्चा नै नभएको विषय ‘बामदेव गौतमलाई पाल्पा क्षेत्र नं १ बाट चुनाव लडाउने सहमति भएको’ भन्ने समाचार झूठो, भ्रम पूर्ण र पार्टीको एकता बिरोधी षड्यन्त्रबाट प्रेरित भएको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु,’ सांसद रानाले फेसबुकमा लेख्नुभएको छ ।
राना पूर्वभूमिसुधार मन्त्री पनि हुनुहुन्छ। सांसद रानाले स्टाटस राखेलगत्तै उनका समर्थकले दुःख गरेर चुनाव जिताएको स्मरण गराउँदै रानालाई कुनै पनि हालत र परिस्थितिमा पछि नहट्न आग्रह गरेका छन् ।