विराटनगर । विश्वव्यापी कोरोना भाइरसको माहामारीको प्रकोपले नियन्त्रणमा विभिन्न उपाया अपनाइरहँदा कोरोना संक्रमणकै कारण एक जना भारतीय लोकपालका न्यायिक सदस्यको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लोकपालका न्यायिक सदस्य ६२ वर्षीय अजय कुमार त्रिपाठी रहेको भारतीय संचारमाध्यामहरुले जनाएका छन् ।
एक महिना अगाडि (अप्रिल दुई तारिख) स्वास्थ्यमा समस्या आएपछि त्रिपाठीलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य परीक्षण गर्दा उनमामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
विगत तीन दिनदेखि स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । तर स्थानीय समयअनुसार शनिबार राति पौने ९ उनको निधन भएको हो ।
त्रिपाठीकी छोरी र भान्सेलाई पनि कोरोना संक्रमण भएको पुष्टि भएसँगै उनीहरु उपचारपछि घर फर्किसकेका थिए ।
उनी छत्तीसगढ उच्च अदालतको पूर्वमुख्य न्यायाधीशसमेत हुन् । सन् २०१९ को मार्च महिनामा उनलाई कानुन मन्त्रालयले २७ मार्चमा लोकपाल सदस्यमा नियुक्त गरेको थियो । त्यसपछि उनले छत्तीसगढ उच्च अदालतको मुख्य न्यायाधीश पदबाट राजीनामा दिएका थिए ।
भारतमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या १ हजार ३ सय २२ पुगेको छ । शनिबार मात्रै ९४ जनाको कोरोनाबाट मृत्यु भएको छ । भारतमा एकै दिनमा मृत्यु हुनेहरुको यो संख्या हालसम्मकै धेरै हो ।