बाँदर समाउन जङ्गलमै पासो

विराटनगर । बाँदरले खेतबारीमा लगाएको अन्न नष्ट गर्दा किसानहरुले हैरानी भोग्दै आएको कुरा नयाँ होइन । बाँदरले मकै, कोदो, तोरी, सुन्तला, आलु जस्ता बाली नष्ट गर्दा पहाडका धेरै वस्तीका किसानहरु आजित छन् । बाँदरको यो आतंकबाट किसानहरु मात्र प्रभावित भने छैनन् । पछिल्लो समय बाँदरको आतंकबाट सामुदायिक वनका उपभोक्ताहरुसमेत प्रभावित हुन थालेका छन् ।
वन क्षेत्रको विकास र संरक्षण गर्न समुदाय स्तरमा काम गरिरहेको मोरङको एउटा सामुदायिक वन बाँदरको चकचके प्रवृत्तिका कारण हैरान भएको छ । सामुदायिक वनले लगाएको बिरुवा उखेलिदिने, बल्लतल्ल उमारेको सालका बिरुवाहरु उखेलेर जरा खाइदिने जस्ता बदमासी गर्न थालेपछि वन विकास गर्ने उद्देश्य प्रभावित भएको छ ।

मोरङको केराबारी ८ स्थित आमजुङ्गी सामुदायिक वन उपभोक्ता समितिले कुनै बेला बाढी पसेर पुरिएका कारण नयाँ बिरुवा उम्रिन छोडेको जङ्गल क्षेत्रमा बिरुवा हुर्काउन प्रयास गरिरहेको छ । बगर जोतेर विभिन्न जङ्गली प्रवृत्तिका बीऊ रोपेर बिरुवा उमार्ने प्रयास गरेको थियो । उनीहरुले विशेष गरेर यो वर्ष सालको बीऊ रोपेका थिए । सालको बिरुवा राम्ररी उम्रिएको पनि हो । तर त्यसलाई बाँदरले देखिसहेन ।

बगरमा ट्रयाक्टरले जोतेर हलोको सियोमा मकै रोपेजसरी रोपेर उमारेको सालको बिरुवा उम्रिएर हुर्कदै गरेको बिरुवामा यसपालीको हिउँदमा बाँदरको आक्रमण भयो । बाँदरका हुल आउने र सालका बिरुवा उखेलेर नष्ट गरेर आतंकनै मच्चाए । बाँदरको उपद्रव खपिनसक्नु भएपछि उपभोक्ताहरुले बाँदर लखेट्न थाले । तरपनि बाँदरले बिरुवा नष्ट गर्ने क्रम रोकिएन । ‘ उमारेको सालको बिरुवा सबै उखेलेर नष्ट गर्न थालेपछि हामी उपभोक्ताहरु हैरान भयौं,’ आमजुङ्गी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जीत बहादुर बस्नेतले भन्नुभयो ‘बाँदरले सालको बिरुवाको जमिनमुनिको कलिलो जरा खाने रहेछ । त्यसमा लोभिएर बाँदरको हुल बिरुवा उमारेको ठाउँमा आएका रहेछन् ।’ सामुदायिक वनले उमारेको सालको बिरुवा नष्ट गरेपछि बिरुवा जोगाउन धेरै मिहेनत परेको वस्नेतले बताउनुभयो ।

बाँदर लखेट्ने जुक्ति

बाँदरले बिरुवा उखेलेर नष्ट गर्न थालेपछि स्थानीय उपभोक्ताहरुले बाँदर लखेटन् थाले । त्यसका लागि हेरालु खटाए । हेरालुबाट बिरुवा जोगाउन हम्मे भयो । त्यसपछि उनीहरुले बाँदर समाउने विकल्प फुराए । उनीहरुले परम्परागत पासो तयार पारे । बाँसबाट तयार पारेको सानो खोरजस्तो पासोमा बाँदर पर्न थालेपछि अहिले बिरुवा जोगिएको छ । करिव दुई महिनादेखि बाँदरले त्यस सामुदायिक बनमा सालको बिरुवा उखेलेको छैन ।

बाँसबाट बनाइएको सानो खोरमा दुई झुत्ता मकै झुण्ड्याएर राखेपछि त्यहाँ आउने बाँदर मकैखान खोरमा पस्थे । खोरमा पसेर मकै तान्नसाथ खोरको साँचो खस्थ्यो र बाँदर भित्रै थुनिन्थ्यो । त्यसरी थुनिएपछि बाँदर चिच्याउने र कराउने गर्ने । ‘खोरमा परेका बाँदर समस्यामा परेको देखेपछि अरु बाँदर भागेर फर्किदा रहेछन् ’ अध्यक्ष वस्नेतले भन्नुभयो ।
बनमा फलफुलका बिरुवा

बनमा प्रयाप्त आहरा नपाएपछि बाँदर लगायत जङ्गली जनावर बस्ति क्षेत्र पस्ने गरेका छन् । बाँच्नका लागि ने भेट्छन् त्यही खाइदिने गर्दा किसानहरु जङ्गली जनावरबाट प्रभावित बन्दै आएका छन् । तर त्यसलाई नियन्त्रण गर्न केवल प्राविधिक तरिकामात्र अवलम्वन गरेर मात्र सम्भव नहुने डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरे बताउनुहुन्छ । उहाँले जङ्गलमा केवल जङ्गली काठका विरुवा मात्र लगाउने होइन जनावरका लागि आवश्यक वनस्पतिहरु पनि लगाउनु पर्ने बताउनुहुन्छ । उहाँले वन विकास र संरक्षणमा काम गरिरहेका सबै सामुदायिक वन तथा साझेदारी वनका उपभोक्ताहरुलाई वृक्षरोपण गर्दा करिव १० प्रतिशत फलफुलका बिरुवा पनि रोप्न निर्देशन गरेको जानकारी दिनुभएको छ ।

गतवर्षदेखि मोरङका अधिकांश सामुदायिक वनले वन क्षेत्रमा अम्बा, कटहर, आँप, केरा, आरु जस्ता विभिन्न प्रजातिका फलफुलका विरुवा पनि रोप्न थालेका छन् । त्यसले जङ्गली जनावरहरुका लागि आहराको प्रवन्ध गर्ने विश्वास उनीहरुको छ ।

जङ्गलमा फलफुल रोप्ने कि बाँदर समाउन विदेशी झिकाउने ?

अघिल्लो वर्ष पहाडका खोटाङ, ओखलढुंगा, उदयपुर, तेह्रथुम लगायत धेरै जिल्लाका वस्तीहरु बाँदर आतंकबाट प्रभावित बने । बस्तिमा पसेर बाँदरले किसानले लगाएको अन्नबाली नष्ट गरिदिएको भन्दै सरकारसँग राहतकै माग गरे । बाँदर आतंक नियन्त्रण नभए गाउँछोडेर बसाईँ सर्नुपर्ने वाध्यता आइपर्ने भन्दै उनीहरुले गुनासो गरेपछि स्थानीय सरकारले बाँदर समाउन भन्दै भारत लगायत विभिन्न देशबाट तालिमप्राप्त सिकारी ल्याए । तर त्यसरी पनि दिर्घकालिन रुपमा बाँदर नियन्त्रण गर्न सम्भव भएन ।

पछिल्लो समय बन क्षेत्रमा बाँदरका लागि आवश्यक आहराको प्रवन्ध गरेर तिनलाई वस्तीसम्म आउन नपर्ने व्यवस्था मिलाउनु पर्छ भन्ने धारणा विकास भएको छ । तराईमा त्यसको कार्यान्वयन पनि सुरु भएको छ । यसले बस्ति र खेतीबाली माथि बाँदरको आक्रमण कम हुनसक्ने सम्भावना रहेको डिभिजन वन कार्यालय मोरङका प्रमुख घिमिरे बताउनुहुन्छ ।

शनिबार, २० बैशाख, २०७७, साँझको ०७:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर