विराटनगर । अन्तराष्ट्रिय स्तरको उपचार गर्ने र उपचार नपाएर समस्यामा परेकाहरुको निःशुल्क उपचार गर्ने प्रचार गर्दै आएको विराटनगर स्थित नोबेल मेडिकल कलेजले उदयपुरका अर्का विरामीलाई पनि अस्पतालबाट निकालेको छ ।

हात भाँचिएर अप्रेशनका लागि भर्ना भएका उदयपुरका भीमबहादुर खत्रीलाई शुक्रबार नोबेललले अप्रेशन थिएटरबाटै निकालेको हो ।

नोबेलले यसअघि मोरङको पथरीकी एक बृद्धालाई खोकेको भन्दै अपरेशन थिएटरबाट निकालेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । यस्तै गत बुधबार प्रसुति गराउन शल्यक्रिया कक्षमा लगिएकी सरस्वती रौनियारलाई पनि उदयपुर घर भएकै कारण देखाएर नोबेलले बाहिर निकाल्दै कोशी अस्पतालमा रेफर गरेको थियो ।

प्रसुती गर्नुपर्ने महिलालाई अस्पतालबाट निकालेको बारेमा अनुसन्धान गरी कार्वाही गर्ने स्वास्थ्य मन्त्रालयले बताएको बेला शुक्रबार अर्को विरामी नोबेलबाट निकालिएका हु्न् । बारीमा घाँस काट्ने क्रममा लडेका उदयपुरको त्रियुगा–६ घनचक्रेका खत्रीको देब्रे हात भाँच्चिएकोले बिहीबार नोबलमा भर्ना भएका थिए ।

खत्रीलाईशुक्रबार बिहान ९ बजे शल्यक्रिया गर्ने समय चिकित्सकले दिएपछि आफन्तले ३२ हजार रुपैयाँ बुझाएर बिलसमेत काटेका थिए । अन्तिम समयमा अप्रेशन थिएटरमा लगिसकेपछि डाक्टरले उदयपुर घर भएको थाहा पाएपछि उनलाई बाहिर निकालेका हुन् । भीमका काका शमशेरका अनुसार पहिले शल्यक्रिया हुन्छ भनेर सबै प्रक्रिया पुरा गरेर भित्र छिराएकोमा एकाएक बाहिर निकालेर नोबेलले बाहिर लैजानु भनेको थियो ।

‘एक्सरे, एमआरआई सबै गरेपछि अप्रेशनका लागि छुट्टै ३२ हजार रुपैयाँ जम्मा गरेको अवस्थामा अप्रेशन थिएटर छिराएर केही समय राखेपछि बाहिर निकालिदिएको भीमको भनाइ छ । अप्रेशन कक्षभित्र ठेगाना सोधेपछि उदयपुर घर भएकाको अप्रेसन हुँदैन भन्दै आपूmलाई बाहिर निकालेको उहाँको भनाइ छ ।

अस्पतालले भने कोरोनाको संक्रमण देखिएको क्षेत्रका विरामीको उपचार गर्न चिकित्सक नै डराएको बताएको छ । कोरोना परीक्षण नगरी संक्रमित क्षेत्रका विरामीको उपचार गर्न नसक्ने उसको भनाइ छ ।

नोबेलले शल्यक्रियाका लागि तिरेको रकमसमेत फिर्ता नदिई विरामी निकालेको भीमले बताउनुभएको छ । नोबेलबाट निकालिएका भीमलाई कोशी अस्पतालमा भर्ना गरिएको छ । गत बुधबार नोबेलबाट निकालिएकी सरस्वतीले कोशीमै शल्यक्रिया गरी छोरा जन्माएकी छन् ।

कोरोना सङ्क्रमण महामारीको बेला नोबेल मेडिकल कलेजको एकपछि अर्को बद्मासी बाहिर आइरहेको छ । सरकारले कोरोनाको बहानमा अन्य विरामीलाई उपचारबाट बञ्चित गर्ने अस्पताललाई कार्वाही गर्ने चेतावनी दिँदै आएपनि विरामीले उपचार पाउन सकेका छैनन् ।

विराटनगरका अस्पतालले भर्ना लिन नमानेकै कारण समयमा उपचार नपाएर बिहीबार सुनसरीको देवानगञ्ज १ का २७ वर्षीय रविन्द्र यादवको मृत्यु भएको थियो । खेतमा प्रयोग हुने किटनाशक औषधि हार्बिसाइड सेवन गरेका उनलाई भेन्टिलेटरमा राख्नुपर्ने भन्दै कोशी अस्पतालले बुधबार रेफर गरेकोमा ज्वरो आएको भन्दै विराटनगरका कुनै पनि निजी अस्पतालले भर्ना नलिएपछि बिहीबार अपरान्ह बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रसुतिको लागि अपरेशन थिएटरमा लगेपछि निकालिएकी सरस्वतीका श्रीमान प्रदिप गुप्ताले नोबेलमाथि कार्वाहीको माग गर्दै राष्ट्रिय मानबअधिकार आयोगमा उजुरी दिनुभएको छ ।