कविताः यी सब भन्ने कुरा रहेछन्

 इन्द्र न्यौपाने

जीवनको कुनै प्रवाह थिएन
संयमित हुरि जस्तो हुन्थ्यो जनसागर
मजदुरहरूको शासन हुन्छ भन्थे
हाम्रो भबिष्य तेसैमा छ भन्थे
भिडमा चुंडिएको चप्पल हातमा बोकेर
अर्को कसिलो मुठ्टी उचाल्दै
असंख्य मानिसहरू कुर्लन्थे
जिन्दवाद !
जिन्दवाद !!
जिन्दवाद !!!

मानिसहरूमा अन्याय हुन्न त्यो दिन
मानिसहरू समान हुन्छन् त्यो दिन
जातिपाती हुन्न
धनी गरिब हुन्न
मानिस एउटा जाति हो
पृथ्वी साझा घर
मजदुरका हातमा शासन हो !

केही वर्ष सुनियो यस्ता कुरा
आँखा भाटा तिखारेर खनियो बैरिमाथि
सिकाउनेले यही सिकाए
हामीले तेही सिकायौं
त्यो बेला ।

हो मर्नेहरू छन् धेरै आजका दिनमा
यातना भोग्नेहरू
घरबार लुटिनेहरू
आज खै के भयो ?
के भएन ?
उनीहरूका छोराछोरी
लकडाउनमा छन् खाडीमा
उनीहरूका सपनाहरू
क्वारेनटाइनमा छन्, परदेशमा
दिलबहादुर
पिंडीमा बसेर नातीका कुरा सुनिरहेछ
बा !
आज बिश्व मजदुर दिवस रहेछ नि
दिलबहादुर मनमनै भन्छ
यी सब भन्ने कुरा रहेछन् ।

शुक्रबार, १९ बैशाख, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर