विराटनगर । सरकारले कोरोना भाइरसको संक्रमण भएका शंकास्पद व्यक्तिहरुको परीक्षण तीब्र बनाएको दावी गरिरहेको बेला प्रदेश १ मा भने परीक्षण गर्ने सामाग्री नै अभाब छ ।
विराटनगरको कोशी अस्पतालमा कोरोना परीक्षण गर्ने ‘रिएजेण्ट’ को अभाब भएको छ भने स्वाब संकलन गर्ने सामाग्री भिटिएम नहुँदा संक्रमित फेला परेको झापा र उदयपुरमा थप शंकास्पदको स्वाब संकलन हुन सकेको छैन ।
स्वाब परीक्षण हुँदै आएको कोशी अस्पतालको ल्याबमा अटोमेटिक मेसिनमा प्रयोग हुने रिएजेन्ट अभाव भएपछि मेनुअल्ली काम गरिरहनुपरेको अस्पतालले जनाएको छ । संक्रमण देखिएको स्थानमा परीक्षणको दायरा बढाउनुपर्ने बेलामा रिएजेन्ट अभाव भएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डा.संगीता मिश्राले बताउनुभयो ।
रिएजेन्ट अभाब हुँदा मेनुअल परीक्षण गरिरहेको र पाँच दिनदेखि मन्त्रालयमा जानकारी दिएपनि सामान नआएको अस्पतालले जनाएको छ । अटोमेटिक मेसिनमा प्रयोग हुने सामान अभाब हुँदा परीक्षणमा ढिलाई हुने गरेको छ ।
कोशी अस्पतालले बिहीबारसम्म ५ सय ८३ जनाको कोरोना परीक्षण गरेको छ । जसमा २२ जनालाई पोजिटिभ देखिएको थियो ।
ल्याबमा आरएनए एक्ट्रयाक्टर किट अभाब भएको बेला संक्रमण देखिएको उदयपुर र झापामा स्वाब संकलन गर्ने सामाग्री भिटिएमकै अभाब भएको छ । झापामा अहिलेसम्म शंकास्पद २ सय ३० जना शंकास्पदको परीक्षण गरिएकोमा थप १ सय ५० जना शंकास्पदको परीक्षण गर्ने तय भएकोमा स्वाब संकलन गर्ने भिटिएम अभाब भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
जिल्लामा पर्याप्त सामाग्री नभएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताउनुभयो । झापामा संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका ८४ जनाको पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको छ । त्यस्तै अर्को ५० वर्षीय संक्रमितको सम्पर्कमा आएका ६३ जनाको नमूना संकलन गरिएको छ ।
कोरोना संक्रमणको केन्द्र बनेको उदयपुरको त्रियुगामा स्वास्थ्य सामाग्री नआउँदा परीक्षणको काम नै प्रभावित भएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताउनुभयो । शंकास्पद क्षेत्रमा परीक्षण हुन नसक्दा नागरिकहरु त्रासमा बस्नुपरेको उहाँको भनाइ छ । उता एक जनामा संक्रमण भेटिएको भोजपुरमा संक्रमितको सम्पर्कमा आएका १४ जनाको पीसीआर र ५२ जनाको आरडिटी परीक्षण गरिएको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले पर्याप्त मात्रामा सामान उपलब्ध नभएपनि आवश्यकता अनुसार वितरण गरिरहेको बताउनुभयो । प्रदेशमा संघीय सरकारले पठाएको सामानलाई प्रदेश सरकारले वितरण गरी कोरोना परीक्षणको काम भइरहेको छ ।
सामाग्री अभाब भएकै कारण प्रदेशमा शुक्रबार ५४ जनाको मात्र स्वाब संकलन भएको विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दिएको छ । बिहीबार भने प्रदेशभरीमा २०३ जनाको स्वाब संकलन गरिएको थियो ।
प्रदेश १ मा शुक्रबारसम्म १ हजार ३४२ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । जसमध्ये ३१ जनाको पोजेटिभ आएको छ । यस्तै आरडिटी बिधिबाट ५ हजार २८२ जनाको परीक्षण गर्दा १५ जनाको पोजेटिभ देखिएको छ ।
प्रदेश १ मा स्वाब परीक्षण क्षमतामा भने दैनिक तीन सयको बनाइएको छ । यसअघि कोशी अस्पताल विराटनगर र सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण हुँदै आएकोमा विराटनगरको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा कोरोना भाईरसको स्वाव परीक्षण मेसिन संचालनमा आएको छ ।