विराटनगर । प्रदेश १ बाट कोरोना भाईरस (कोभिड १९) का शंकास्पद तीनसय बढीको स्वाव एकैदिनमा परीक्षण हुने भएको छ ।
प्रदेश सरकारले कोरोना परीक्षणका लागि थप ल्याव सञ्चालन गरेसँगै दैनिक ३ सय बढीको परीक्षण गर्न सकिने भएको सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताउनुभयो । प्रदेश सरकारले कोरोना परीक्षणको मात्रा बढाउँदै लगेको उहाँले बताउनुभयो ।
विराटनगरको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा कोरोना भाईरस (कोभिड १९) का शंकास्पद व्यक्तिको स्वाव परीक्षण मेसिनको आज निरीक्षण गर्दै मन्त्री घिमिरेले यस्तो जानकारी दिनुभएको हो । सो प्रयोगशालामा आजदेखि स्वाव परीक्षण शुरु भएको छ ।
प्रयोगशालाको सामाजिक विकास मन्त्री घिमिरे, मन्त्रालयका सचिव रविलाल पन्थलगायतले निरीक्षण गर्नुभएको छ । २० जनासम्मको सो ल्यावबाट परीक्षण गर्न सकिने मन्त्री घिमिरेले बताउनुभयो । उहाँले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पनि क्षमता विस्तार गरिएको उहाँले बताउनुभयो ।
धरानमा १ सय बढी र कोशी अस्पतालमा २ सय जना सम्मको परीक्षण गर्न सकिने मन्त्री घिमिरेले बताउनुभयो । सो ल्यावमा कोरोना पोजेटिभ रिपोर्ट आएमा पुनः परीक्षण कोशी अस्पतालमा गरिने प्रदेश १ जनस्वास्थ्य प्रयोशालाका निर्देशक जयबेन्द्र यादवले बताउनुभयो । सो ल्यावबाट यसअघि वर्डफ्ल्यु, स्वाईनफ्ल्यु, एन्थ्रेक्सको परीक्षण हुँदै आएको उहाँले बताउनुभयो । प्रदेश सरकारले पीसीआर मेसिन र किट उपलब्ध गराएपछि पशुपंक्षी रोग अन्वेषण प्रयोगशालाबाट स्वाव परीक्षण शुरु गरिएको यादवले बताउनुभयो ।