अप्रेशन थिएटरबाट विरामी निकाल्ने नोबेल विरुद्ध उजुरी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटा भन्छन्ः कार्वाही हुन्छ

विराटनगर । उदयपुर घर भएकै कारण अपरेशन थिएटरबाट विरामी निकाल्ने विराटनगर स्थित नोबेल मेडिकल कलेजमाथि कार्वाहीको माग गर्दै विरामीका आफन्तले उजुरी दिएका छन् ।

प्रसुति शल्यक्रियाको लागि भर्ना भएकी उदयपुरको त्रियुगा–११ की सरस्वती रौनियारलाई बुधबार अप्रेशन थिएटरबाट निकालेर कोशी अस्पताल रेफर गर्ने नोबेलमाथि कार्वाही गर्न उनका श्रीमाले शुक्रबार राष्ट्रिय मानबअधिकार आयोगमा उजुरी दिएका हुन् ।

प्रसूति व्यथा लागेपछि मंगलबार नोबेलमा भर्ना गरिएकी सरस्वतीको बुधबार बिहान शल्यक्रिया गर्ने समयमा उदयपुर घर भएको बुझेपछि नोबेलका चिकित्सकले शल्यक्रिया कक्षबाटै बाहिर निकालेर कोशी अस्पताल रेफर गरेका थिए । रेफरको कागजमा उदयपुर घर भएको कारण रेफर गरिएको लेखिएको छ ।

उदयपुर घर भएकै कारण विरामीलाई उपचारबाट बञ्चित गर्ने अस्पतालमाथि कार्वाहीको माग गर्दै विरामीका श्रीमान प्रकाश गुप्ताले उजुरी दिनुभएको हो । जिल्ला प्रशासन कार्यालयमा पनि उजुरी दिन गएकोमा शुक्रबार कार्यालय बन्द भइसकेकोले उजुरी दिन नपाएको बताउँदै उहाँले आइतबार प्रशासनमा पनि उजुरी दिने बताउनुभएको छ । विरामीले सहज रुपमा उपचार पाउने न्युनतम मानबअधिकार पनि नोबेलले उल्लंघन गरी ज्यान जोखिममा पार्ने प्रयास गरेको भन्दै पीडित परिवारले उजुरी दिएको हो ।

आयोगको विराटनगरस्थित कार्यालयले उजुरी आएको बताउँदै विरामी उपचारबाट बञ्चित हुनुपर्ने अवस्थालाई गम्भीर रुपमा लिएको जनाएको छ । उजुरीलाई आयोगको केन्द्रीय कार्यालयमा पठाएर आवश्यक कार्वाहीको प्रक्रिया थालिएको कार्यालयले जनाएको छ ।

नोबेलबाट रेफर भएर आएकी सरस्वतीको कोशी अस्पतालमा शल्यक्रियाबाट छोरा जन्मिएको छ । आमा र बच्चा दुबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

नोबेल मेडिकल कलेजले भने शल्यक्रियाका लागि भर्ना भएकी बिरामीमा ज्वरो आएको दाबी गरेको छ । अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले शल्यक्रिया गर्ने बेलामा ज्वरो देखिएकाले चिकित्सकले कोरोनाको शंका गरेपछि कोशी पठाएको दावी गरेपनि नोबेलको रेफर कागजले उनको दावी खारेज गरेको छ । कोशीका चिकित्सक र उनका श्रीमानले पनि ज्वरो नआएको बताएका छन् ।

उदयपुरको भुल्केमा कोरोना संक्रमण देखिएको भएपनि जिल्लाभरका विरामी लिन निजी अस्पतालहरुले अस्वीकार गर्दै आएका छन् । केही दिनअघि पनि विराटनगरको विराट नर्सिङ होमले उदयपुर घर भएका बिरामीलाई भर्ना नगरी गेटबाटै फर्काएको थियो ।

 स्वास्थ्य मन्त्रालयले भन्यो : कार्वाही हुन्छ

यसैबीच नोबल मेडिकल कलेजले गर्भवतीलाई निकालेको घटनाबारे सरकारले छानबिन र कार्वाही गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले यस घटनाबारे सरकारले सत्य तथ्य बुझ्ने बताउनुभएको हो ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा देवकोटाले संक्रमित क्षेत्रबाट आएकै कारण सुत्केरी महिलालाई अस्पतालले निकालेको भए कारबाही हुने बताउनुभएको छ ।

शुक्रबार, १९ बैशाख, २०७७, साँझको ०६:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर