काठमाडौँ । नेपालमा शुक्रबार थप दुई जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
शुक्रबार रुपन्देही निवासी २५ वर्षीय पुरुष र बाँकेको नेपालगञ्ज निवासी ६० वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । योसँगै नेपालका कूल संक्रमितको संख्या ५९ पुगेको छ । यसमध्ये हालसम्म १६ जना कोरोनाभाइरस संक्रमित निको भएर घर फर्किसकेका छन् ।
संक्रमण देखिएका रुपन्देहीका युवक दुई साताअघि भारतबाट आएको पाइएको छ । कोटहीमाई गाउँपालिका वडा नं. १ का ती युवक ५ वैशाखमा भारतबाट घर आएका थिए । उनलाई दाइले घर नलगी मर्चबार आदर्श बहुमुखी क्याम्पसको क्वारेन्टाइन स्थलमा पुर्याएका थिए ।
क्वारेन्टाइनमा बसेका १० जनामध्ये उनमा कोभिड–१९ पोजेटिभ देखिएको हो ।