विराटनगर । उदयपुर घर भएकै कारण विराटनगर स्थित नोबेल मेडिकल कलेजले एक विरामीलाई शल्यक्रिया कक्षबाट बाहिर निकालेको छ ।

प्रसुति शल्यक्रियाको लागि भर्ना भएकी उदयपुरको त्रियुगा–११ की सरस्वती रौनियारलाई अप्रेशन थिएटरबाट निकाल्दै नोबेलले कोशी अस्पताल रेफर गरेको हो ।

प्रसूति व्यथा लागेपछि मंगलबार नोबेलमा भर्ना गरिएकी उनको बुधबार बिहान शल्यक्रिया गर्ने समयमा उदयपुर घर भएको बुझेपछि चिकित्सकले शल्यक्रिया कक्षबाटै बाहिर निकालेर रेफर गरेको उनका श्रीमान प्रकाश गुप्ताले बताउनुभयो । प्रसुतिको लागि आवश्यक सबै प्रक्रिया पुरा गरेपछि सरस्वतीलाई अप्रेशन थिएटरमा लगिएकोमा चिकित्सकले विरामीको ठेगाना उदयपुर देखेपछि शल्यक्रिया गराउन नमानेको उहाँको भनाइ छ ।

शल्यक्रिया कक्षमा प्रवेश गराएपछि तत्काल बाहिर निकालेर कोशी अस्पतालमा रेफर गरेको गुप्ताले बताउनुभयो । अप्रेशन गर्ने बेलामा बिरामीको विवरण हेरेपछि रेफर गरिदिएको उहाँको भनाइ छ ।

नोबेलबाट रेफर भएर आएकी सरस्वतीको कोशी अस्पतालमा सफल शल्यक्रिया भएको छ । उनले छोरा जन्माएकी छन् भने दुबै जनाको स्वास्थ्य अवस्था राम्रो रहेको श्रीमान गुप्ताले बताउनुभयो ।

नोबेल मेडिकल कलेजले उदयपुरबाट आएको विरामी भएकोले रेफर गरिएको पुर्जीमै लेखेको छ । नोबेलबाट आएको रेफर कागज हेरेपछि कोशीका चिकित्सक नै छक्क परेका थिए ।

नोबेल मेडिकल कलेजले भने शल्यक्रियाका लागि भर्ना भएकी बिरामीमा ज्वरो आएको दाबी गरेको छ । अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले शल्यक्रिया गर्ने बेलामा ज्वरो देखिएकाले चिकित्सकले कोरोनाको शंका गरेपछि कोशी पठाएको दावी गर्नुभयो । तर, कोशीका चिकित्सक र उनका श्रीमानले ज्वरो नआएको बताएका छन् ।

नोबेलले रेफर गरेको कागजमा पनि ज्वरो आएको लेखिएको छैन । नोबेलले बिरामी उदयपुरकै भएका कारण रेफर गरेको थियो । यसअघि नोबेलले मोरङको पथरी घर भएकी एक बृद्धाको अपरेशनको तयारी गरेको बेला खोकेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरेको थियो ।

नोबेलका सञ्चालक सुनिल शर्माले भने कोरोना संक्रमितको लागि अस्पताल नै सरकारलाई दिने प्रचार गर्दै आएका छन् । तर, सामान्य अवस्थाका विरामीलाई पनि विनाकारण उपचार नगरी फिर्ता गर्ने गरिएको छ । उदयपुरको भुल्केमा कोरोना संक्रमण देखिएको भएपनि जिल्लाभरका विरामी लिन अस्पतालहरुले अस्वीकार गर्दै आएका छन् ।

केही दिनअघि पनि विराटनगरको विराट नर्सिङ होमले उदयपुर घर भएका बिरामीलाई भर्ना नगरी गेटबाटै फर्काएको थियो । पेट दुखेर अस्पताल आएकी उदयपुरको बेलका ४ रामपुरकी ५२ बर्षीया रत्नमाया तिम्सिनालाई आकस्मिक कक्षमा कार्यरत चिकित्सले भर्ना नलिई गेटबाटै फर्काइदिएका थिए ।

बिराटले बिरामी लिन नमानेपछि उनलाई कोशी अस्पताल भर्ना गरिएको थियो । पहिले कोरोनाको भए÷नभएको रिर्पोट लिएर आएपछि मात्रै भर्ना गरिने चिकित्सकले बताएका थिए ।

सरकारले कोरोनाको बहानामा विरामीको उपचार नगर्ने अस्पताललाई कार्वाही गर्ने चेतावनी दिँदै आएको छ । तर, विरामीले भने उपचार अभाबमै ज्यान गुमाउनुपर्ने जोखिम देखिएको छ ।

रेफर गरेको विरामीमा आरडिटी पोजेटिभ देखिएपछि गोल्डेनमा तनाब
यसैबीच कम्मरको हड्डी भाँचिएर उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल हुँदै बीएन्डबी अस्पताल काठमाडौं पुगेका उदयपुरका एक व्यक्तिमा आरडीटी पोजेटिभ देखिएको सुचनापछि बिहीबार दिनभर अस्पतालमा तनाबको अवस्था बनेको छ । बीएण्डबी अस्पतालले आरडिटी पोजेटिभ देखिएपछि पाटन अस्पताल रेफर गरेका ती विरामीको पीसीआर परीक्षणमा भने नेगेटिभ आएको बुझिएको छ ।

बुधबार गोल्डेनले रेफर गरेका विरामीको आरडिटी पोजेटिभ देखिएको सुचनापछि गोल्डेनमा विरामीको सम्पर्कमा रहेका स्वास्थ्यकर्मीहरु आतंकित बनेका थिए । उनीहरुले विहीबार दिनभर उनको पिसिआर रिपोर्ट पर्खेर काम नगरी बसेका थिए ।

आफूले रेफर गरेको विरामीको आरडिटी नेगेटिभ देखिएपछि बिहीबार दिउँसो ३ बजेसम्म गोल्डेन अस्पतालको सबै काम ठप्प भएको थियो । विरामीको पिसिआर नेगेटिभ आएपछि सबैलाई सहज भएको अस्पतालका सञ्चालक दिनेश ठाकुरले बताउनुभयो ।