नेकपा सचिबालय बैठक सकियो (प्रवक्ताको विज्ञप्तिसहित)

काठमाडौं । पार्टीमा चरम विवाद बढेको बेला आज साँझ बसेको नेकपा सचिबालय बैठक निश्कर्षहिन बनेको छ ।

बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएपनि कुनै पनि निर्णय हुन नसकेको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको करिब चार घण्टा लामो बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले समस्या समाधानको लागि थप छलफल गर्ने तय भएको बताउनुभयो । पार्टी सचिबालय बैठक २० गते पुनः बस्ने र त्यसले स्थायी समितिको बैठक तथा अन्य एजेण्डाहरु तय गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठले पार्टीको सचिवालयको बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकताको महत्व, स्थायी कमिटी बोलाउने र त्यससँग जोडिएका विविध पक्षका बारेमा विचार विमर्श भएको बताउनुभयो । बैठकमा ठोस सहमति नजुटेपछि थप गृहकार्यको गरेर फेरि बैठक बस्नेगरी छलफल टुंगिएको उहाँको भनाइ छ ।

२० गतेको बैठकले अहिलेको आवश्यकतासँग मेल खाने, पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने र जनताले दिएको जनादेशअनुसार सामाजिक आर्थिक प्रक्रियालाई अघि बढाउने सन्दर्भमा उपयुक्त निर्णय दिने प्रवक्ता श्रेष्ठको विश्वास छ ।

प्रेस विज्ञप्ति
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा बालुवाटारमा बस्यो ।

बैठकमा पार्टीको आन्तरिक एकताको सुदृढीकरण, सरकारका काम कारबाही, स्थायी समितिको बैठकलगायत विभिन्न विषयहरूमा गहन छलफल भयो । सबै सदस्यहरूले आआफ्ना धारणाहरू राख्नुभयो ।
बैठकले आन्तरिक छलफल र सरसल्लाह जारी राख्दै आगामी बैशाख २० गते पार्टी सचिवालयको बैठक बस्ने निर्णय गरेको छ ।

नारायणकाजी श्रेष्ठ
प्रवक्ता
१७ बैशाख २०७७

बुधबार, १७ बैशाख, २०७७, रातीको ०९:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर