प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेट

सचिवालय बैठक अनिश्चित

विराटनगर । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता सुरु भएको छ ।

दुई अध्यक्षबीच सचिवालय बैठक र स्थायी समिति बैठक बोलाउनेबारे छलफल हुने स्रोतले बतायो । यसअघि २० जना स्थायी कमिटी सदस्यहरूले स्थायी कमिटी बैठकको माग गरी अध्यक्षद्वयलाई पत्र पठाएका थिए।

प्रचण्डसहित सचिवायलयका सदस्यहरूसँग छुट्टाछुट्टै भएको भेटमा प्रधानमन्त्री ओलीले तत्काल सचिवालय बैठक बोलाउन जरूरी नरहेको बताएका थिए। प्रधानमन्त्री ओली र प्रचण्डबीच गत शुक्रबार भेट भएको थियो।

सचिवालय बैठक अनिश्चित

यसैबीच अध्यादेश प्रकरणपछि पार्टीभित्र विभिन्न गुटमा विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालयको बैठक अनिश्चित भएको छ ।

नेकपा वरिष्ठ नेता माधव नेपाल निकटका नेताहरूसँग प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुबीचको भेटमा आज सचिवालय बैठक बस्ने जानकारी दिएका थिए। तर, हालसम्म बैठक कतिबजे बस्ने भन्नु टुंगो लागिसकेको छैन ।

सचिवालय बैठकमा अल्पमतमा परेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले आफूलाई बहुमत सिद्ध गर्न विभिन्न छलफल र कसरत गरिरहनुभएको छ । यद्यपि बहुमत सिद्ध हुने सम्भावना कमजोर बन्दै जाँदा बैठक पनि अनिश्चित बनेको हो ।

ओलीले पूर्वमाओवादी पक्षधर र वरिष्ठ नेता माधव नेपाल निकटका केही नेताहरूलाई आफ्नो पक्षमा ल्याउने प्रयास जारी राखेको बुझिएको छ ।

प्रधानमन्त्रीले आफू अनुकूल नहुँदासम्म सचिवालय बैठक नबोलाउने सोच बनाएको स्रोतको दाबी छ।

मङ्गलबार, १६ बैशाख, २०७७, दिउँसोको ०१:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर