कोरोना कहरका चुनौति र संभावनाहरु

 नारायण निरौला

कोरोना (कोभिड १९) मानव सभ्यतामै आएको ठूलो चुनौति हो । हुन त मानवले चौधौं शताब्दीमा प्लेगबाट २५ करोड र २०औं शताब्दी (सन् १९१८) मा स्पेनिस स्वाइन फ्लुबाट २० करोड बन्धुबान्धव गुमाएको थियो।विश्व स्वास्थ्य संगठनले कोरोनाको चुनौति कम्तिमा पनि दुई वर्षसम्म रहनेछ र यसको खोप बन्न पनि त्यत्ति नै समय लाग्नेछ भनेको छ । त्यसैगरी कोरोनाले कम्तिमा २५ लाख मानिसको ज्यान लिनेछ भनी रिपोर्ट दिएको छ। यसरी हेर्दा कोरोनाले हाम्रो देश नेपालमा पनि भयावह स्थिति नल्याउला भन्न सकिदैन। नेपाली जनता कोर‍नाको संक्रमण हुने अनौठो चरित्र देखेर भयवित हुँदैछन् । त्यतिमात्र होइन सबै उत्पादनका क्षेत्रहरु लकडाउनको लपेटोमा परेपछि सबै जनता बेरोजगार र अभावको भुमरीमा पर्दै जादैछन्। नवजात शिशु, बालक, वृद्धवृद्धा, गर्भवती र सुत्केरी महिला, क्यान्सर, उच्च रक्तचाप ,मधुमेह, मुटू रोग, डाइलोशिस आदीका रोगीहरु समयमा उपचार नपाई मृत्यूको मुखमा पुग्ने जोखिम बढेर गएको छ।

लामो समयदेखि शैक्षिक संस्थाहरु बन्द रहँदा विद्यालयदेखि विश्वविद्यालयसम्मका विद्यार्थीहरु विलखवन्दनमा परेका छन्। त्यसैगरी एसईई, ११, १२ र विश्वविद्यालयका परीक्षाहरु स्थगित हुँदा विद्यार्थीको भविष्यमा अन्यौलता थपिएको छ । कोरोना संक्रमितको उपचार गर्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीहरु आवश्यक ब्यक्तिगत सुरक्षा उपकरण (पीपीई) विना ठूलो जोखिममा छन्। यसको साथसाथै स्वास्थ्यकर्मीहरुले बेतुकका सरकारी फर्मान, हुकुम, आदेश र धम्की खप्नु परेको छ।कोरोनाको जोखिक मोल्दै आफ्नो घर परिवार पुग्न चाहने यात्रुहरु पनि बाटोमा कैयौं दुःखकष्ट खेपिरहेका छन्। यस्तो विसम परिस्थितिमा के सत्ताधारी के प्रतिपक्षी सबै राजनीतिक दल, नागरिक समाज,विज्ञ एवम् बुद्धिजीवीहरु एकजुट भई कोरोना विरुद्ध राष्ट्रिय सहमति निर्माण गर्नुपर्नेमा सरकारी रवैयाले पञ्चायतकालिन निर्दलियताको भूतलाई जगाउदै गरेको आभाष हुन्छ। त्यतिमात्र होइन भोकै र प्यासै हिंडेका यात्रुहरुले प्रहरी प्रशासनको लाठी, बुट र दुर्व्यवहारको समेत सामना गर्नु परिरहेको छ। लकडाउनको पालना गराउने नाममा नागरिकमाथि प्रहरीको दमन र दुर्व्यवहार निन्दनीय त छँदैछ यस्तो भयावह स्थितिको तमासा बनाउने र त्यो तमासाको सिंहदरवार र बालुवाटारमा बसेर आनन्द अनुभुत गर्ने ओली सरकार झन् ठूलो घृणाको पात्र बनिसकेको छ।

जनता विश्वब्यापी महामारीको चपेटोमा परेकोबेला जनतालाई घरघरमा थुनेर त्यहि महामारीका नाउँमा विदेशबाट आयात भएका स्वास्थ्य उपकरणहरु, राहातका नगदी जिन्सी साथै राहातका नाउँमा संकलित कोषमा भ्रष्टाचार गर्ने र कमिशनको भागबण्डाको होडबाजीमा नेपाली राजनीतिलाई होम्ने र वैदेशिक हस्तक्षेपको उर्वरभूमी बनाउने अभिष्टतर्फ ओली सरकार उदत्त देखिन्छ। यसको पछिल्लो र आलो प्रमाण नै अध्यादेश प्रकरण हो भन्दा अत्युक्ति हुँदैन। अध्यादेश प्रकरणलाई अझ गम्भीर रुपले नियाल्ने हो भने ओली सरकारको कुत्सित अभिष्ट जनताले रगतको आहालमा डुबेर ल्याएको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको हरण गर्ने ग्राण्डडिजाइन छ्याङ्छ्याङ्ती देखिन्छ। राजनीतिकै इतिहासको प्रसंग जोड्नुपर्दा प्रधानमन्त्री ओली आफू पनि गणतन्त्रको लागि १४ वर्ष कठिन जेल यातना भोगेको पनि बेलाबेला भन्ने गर्छन्। याद रहोस गणतन्त्रको लागि भएको २०६२÷६३को निर्णायक आन्दोलनमा वर्तमान् राष्ट्रपति र प्रधानमन्त्रीको उपस्थिति थिएन । बरु उनीहरु कसरी हुन्छ आन्दोलन तुहाउने र निरङ्कुश राजतन्त्र कायम राख्ने डिजाइनमा सम्मिलित थिए भन्ने कुरामा त्यसबेलाका सबै आन्दोलनकारी बेखबर छन् भन्न सकिदैन। त्यतिमात्र होइन वि.सं.२०५२ सालमा राष्ट्रघाती महकाली सन्धीमा संसदमा सहमति बटुल्ने षडयन्त्रमा पनि लागेकै थिए, त्यसैगरी सेटलाइटबाट बिजुली निर्यात गर्ने गफ पनि चुटेकै हुन्। अझ मोनो रेल,पानीजहाज आदि गफमा पनि ख्याति कमाएकै हुन्। हालसालै कोरोनाविज्ञ बन्न पनि भ्याइरहेका छन्।

यसरी नेपालका शासकहरु मन वचन र कर्मले नेपाली जनतालाई कोरोना विरुद्धको संघर्षमा प्रोत्साहित गर्नु भन्दा हतोत्साहित बनाइरहेका छन्। ओली सरकारको अभिभावकत्व माथि ठूलो प्रश्नचिन्ह खडा भएको छ। कोरोना विरुद्धको युद्धमा पनि जनस्तर बाटै हस्तक्षेप र पहलकद्मी लिनुपर्ने आवश्यकता बढ्दो छ। आदरणीय नेपाली दिदीबहिनी दाजुभाइहरु ! हामी हतोत्साहित हुनुहुँदैन। हरेक चुनौतिले गर्भमा नयाँ सम्भावना लिएर आएको हुन्छ। पुरानो मानव सभ्यताको अन्त्य भई अबको मानव सभ्यता नयाँ शीराबाट आरम्भ हुन्छ। कोरोनाको यो चुनौतिले मानिसको सोच, चिन्तन, कला, शैली र दर्शनमै आमूल परिवर्तन ल्याउने छ । अबको विश्व केवल मानिसको मात्र होइन सम्पूर्ण प्राणीको विश्वमा परिणत हुने छ। अब मानवताको परिभाषामा समेत बदलाव आउने छ । ब्यक्ति, परिवार, समाज, राज्य, राजनीति, संस्कृति ,अर्थतन्त्र उत्पादन क्षेत्र र प्रणालीमा समेत ठूलो परिवर्तन आउने छ। विश्व मानवले थुप्रै हिमपात, खडेरी, अनिकाल, भूकम्प, ज्वालामुखी, सुनामी, बाढीपैरो र भिषढ युद्ध झेल्दै हाल कोरोना कहरको सामना गर्दैछ। आफ्नो खानपान, सरसफाइमा गम्भीर रुपले ध्यान पुर्याऔं, नियमित ब्यायाम गरौं, नवजात शिशु, सुत्केरी र गर्भवती महिला, वृद्धवृद्धा,दीर्घ रोगी,असहाय,गरीब निमुखा प्रति सहयोगी बनौं। सामाजिक दूरी राखेर मात्र भेटघाट गरौं, मनमा पीर र पीडा नराखौं, रचनात्मक कामहरुमा ध्यान लगाऔं । यस घडी हतोतत्साही होइन उत्साही बनेर कोरोना विरुद्ध लडौं। रातक‍ो अन्धकार पछि क्षितिजमा लाली अवश्य छाउनेछ।
नव वर्ष २०७७ को शुभकामनासहित हार्दिक अभिवादन !

शुक्रवार ,१२ वैशाख, २०७६, ललितपुर

Supported only between 1944-2022